निजी क्षेत्रद्वारा प्रवर्द्धित ठुला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंकलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह


ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवर्द्धित ठुला पूर्वाधार परियोजनामा लगानी बढाउन एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ । शुक्रबार राजधानीमा एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभ सासँगको भेटमा ढकालले उक्त कुरा व्यक्त गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवर्द्धित पूर्वाधार विकासका ठुलाठुला परियोजनामा एसियाली विकास बैंकलाई लगानीका लागि आग्रह गर्नुभएको हो ।

“मुलुकको विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहन्छ । यहाँहरूले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुकासाथै मुलुकको समग्र विकासमा समेत ठुलो योगदान पुग्न सक्छ । निजी क्षेत्रद्वारा प्रवर्द्धित ठुलाठुला पूर्वाधारका परियोजनामा लगानीको प्रशस्त सम्भावनाहरू छन् । श्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठुलाठुला पर्यटन, जलविद्युत, सडक, होटेललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन । यस क्षेत्रमा एसियाली विकास बैंकले लगानी विस्तार गर्नुपर्‍यो,” ढकालले भन्नुभयो ।

ढकालले नेपालको बैंकिङ्ग क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधान कालागि पनि एसियाली विकास बैंकको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उक्त अवसरमा एसियाली विकास बैंकका उपाध्यक्ष लाभासले एसियाली विकास बैंक यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीका लागि तयार रहेको बताउनुभयो ।

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एसियाली विकास बैंकका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x