घुम्न जाऊँ बर्दिया: थारु र अवधीनाच विशेष आकर्षण

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको भव्य एवं आकर्षक तयारी प्रदेश ५ सरकारले गरेको छ । 
प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवर्द्धन समितिले गरेको छ । बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गर्ने  भ्रमण वर्ष प्रदेशका सहसंयोजक माधव नेपालले जानकारी दिए । 
ठाकुरद्वारालाई सिँगारेर चिटिक्क बनाइँदै छ । नयाँ वर्षको पूर्व सन्ध्यामा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ । “भ्रमण वर्षको शुभारम्भ तथा सन् २०२० को सुरुआतमा भारतीय पर्यटकलाई बाँकेका होटेलमा विशेष आतिथ्यताको व्यवस्था गरिएको छ”, सहसंयोजक नेपालले जनाए । उद्घाटनका दिन बाँकेको गावर भ्याली क्षेत्रमा जङ्गल सफारी पनि विधिवतरूपमा सुरु गर्ने कार्यक्रम छ । 
प्रदेश नं ५ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरी संयोजक र पर्यटन व्यवसायी नेपाल सहसंयोजक रहेको  पर्यटन प्रवर्द्धन समिति गठन गरिएको थियो । उद्घाटन समारोहमा प्रदेशका मन्त्री, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवर्द्धन समितिका पाँच/पाँच सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने छन् । कार्यक्रममा विभिन्न जन जातिको संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नृत्य प्रस्तुत गरिने छ । रोल्पाको मगर नाच, दाङ र बर्दियाको थारूनाच, अवधीनाच, पञ्चेबाजासमेत प्रदर्शन गरिने महोत्सवमा गरिने छ ।

रुपन्देहीका पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा र बुटवलमा सडक खाना महोत्सवको आयोजना गरेका छन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाका मुख्य स्थानमा सडक खाना महोत्सवको आयोजना गरिएको व्यवसायीले उल्लेख गरे । भ्रमण वर्षलाई लक्षित गर्दै सङ्घसंस्थाले सहुलियत समेत घोषणा गरेका छन् । आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटेलमा १५ देखि ३० प्रतिशत छुट दिने निर्णय भएको होटेल सङ्घले जनाएको छ । 
लुम्बिनी भ्रमण वर्ष मनाइरहेको प्रदेश सरकारको सहयोगमा बुद्ध जन्मस्थलमा विशेष समारोहबिच नेपाल भ्रमण वर्षको स्वागत तथा सडक खाना महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी होटेल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए । “नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन सडक खाना महोत्सवलाई भ्रमण वर्षसँग जोडेका छौँ”, उनले थपे । 

यस्तै बुटवल र भैरहवामा नेपाल भ्रमण वर्षको शुभारम्भ र लुम्बिनी भ्रमण वर्षको अवसरमा सडक खाना महोत्सवको आयोजना गरिएको छ । बाह्य पर्यटकहरू भित्रिने मुख्य नाका भैरहवामा पनि आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नेपाल भ्रमण वर्षको स्वागतका लागि सडक खाना महोत्सवको आयोजना गरिएको सिद्धार्थ होटेल सङ्घका अध्यक्ष चन्द्रप्रकाश खनालले जानकारी दिए । 

होटलहरुले भ्रमण वर्षको स्वागतका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । जिल्लाका होटलले साङ्गीतिक महोलमा भ्रमण वर्ष मनाउने तयारी गरेका छन् । “नेपाल भ्रमण वर्ष सफल बनाउनु हामी सबैको दायित्व हो, त्यसैले यसको स्वागतमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेका छौँ, होटेल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिँदै, आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली हस्पिटालिटी सहितको सेवाको जानकारी दिन इभेण्ट आयोजना गरेको उल्लेख गरे।  

भ्रमण वर्षबाट निजी क्षेत्र उत्साहित बनेको छ । भ्रमण वर्षका माध्यमबाट पर्यटन क्षेत्रको पूर्वाधार विस्तारमा ठुलो लगानी जुट्ने अपेक्षा निजी क्षेत्रको छ । सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x