अष्ट्रेलियामा भ्रमण वर्षको भव्य तयारी

ज्ञानमाण्डू।भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय कार्यक्रमको शुभारम्भको तयारी अस्ट्रेलियामा तीव्र पारिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अस्ट्रेलियाको सिड्नीमा यही पुस २२ गते भव्य समारोहका बिचमा भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। 

राष्ट्र मण्डल अस्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महा वाणिज्य दूतावास सिड्नी न्यु साउथ वेल्सको सहयोगमा कार्यक्रम हुँदै छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सो दिन बिहान ७ बजे अस्ट्रेलियामा रहेका नेपाली र अस्ट्रेलियावासी सबैले एकै साथ सामाजिक सञ्जाल फेसबुकमा भ्रमण वर्षको लोगो पोस्ट गने कार्यक्रम रहेको छ । 

यसै गरी बिहान ८ देखि १० बजेसम्म नेपालीको उल्लेख्य बसोबास रहेका स्थानमा भ्रमण वर्षको प्रचारप्रसार गर्दै शान्तिपूर्ण र्‍याली गरिने भएको छ । त्यसका लागि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका विभिन्न तह तप्काका अधिकारीहरू सक्रिय रूपमा लागिपरेका छन् । 

त्यसै दिन दिउँसो १ बजे सिड्नी सहरको मुटु भनेर चिनिने ओपेरा हाउस रहेको ‘सर्कुलर की’मा नेपाली वेशभूषासहित नेपाली र विशिष्ट पाहुनाहरूको उपस्थितिमा विशेष कार्यक्रम हुने राजदूतावासले जनाएको छ । 

सो कार्यक्रमलाई पर्यटन मन्त्री भट्टराईले विधिवत् रूपमा उद्घाटन गर्ने छन् । कार्यक्रममा मन्त्री भट्टराई, राजदूत दाहाल, नेपालको ५८औँ पटक भ्रमण गर्नुभएका अस्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ विदेशी पाहुनासहितको पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिको उपस्थितिमा रात्रि भोज गरिँदै छ। 

यससँगै नेपालमा पर्यटक भित्र्याउन वर्षभरि नै विभिन्न कार्यक्रम गर्न लागिएको राजदूतवाले जनाएको छ । । ट्राभल एजेन्टहरू, यात्रा विशेषज्ञ, प्राध्यापक, लेखक, पत्रकार लगायतसँग छलफल तथा उनीहरूलाई नेपालको पर्यटकीय महत्त्वबारे लेख्न र प्रचारप्रसारका लागि उत्प्रेरित गर्न लागिएको छ । 

राजदूतावासको पहलसँगै यहाँका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरेका छन् । यहाँको सबैभन्दा ठुलो ट्राभल एजेन्सी फ्लाइट क्यानबेराले प्याकेज सार्वजनिक गरेको हो । सम्भवतः पहिलो पटक यहाँका ट्राभल एजेन्सीले नेपालका लागि प्याकेज कार्यक्रम सार्वजनिक गरेका हुन् । 

अस्ट्रेलियाबाट वार्षिक ३३ हजार हाराहारी पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको जनाइएको छ । 

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी अस्ट्रेलियामा रहेका नेपालीहरूले भ्रमण वर्षलाई पर्वका रूपमा लिएको बताए । उनले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका नेपाली र राजदूतावास संयुक्तरुपमा लाग्नुपर्नेकुरामा जोड दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x