अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध

ज्ञानमाण्डू।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अस्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । 

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रूपमा बुधवार राति आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्त्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे । 

मन्त्री भट्टराईले नेपाल र अस्ट्रेलियाको बिचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुनसकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताएका छन् । अस्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उहाँले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे । 

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने जनाए । दाहालले आफू अस्ट्रेलिया आए देखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि उल्लेख गरे । 

गैर आवासीय नेपाली महासङ्घका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरेका छन् । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरे । अस्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको जनाएका छन् । 

गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरू लागि परेको जानकारी दिए । अस्ट्रेलियाको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जनाए । सङ्घकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो । 

सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अस्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । कार्यक्रममा नेपाल भ्रमण गर्नुभएका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्त्वका बारेमा वर्णन गरेका थिए । 

गत वर्ष यहाँबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अस्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x