ज्ञानमाण्डू। नेपालमा बैङ्क तथा वित्तीय संस्थाहरू मर्जरको विषय लामो समयदेखि बहसको उदाहरण बनेको देखिन्छ ।अघिल्ला दिनहरूमा बैङ्किङ क्षेत्रमा मर्जर नीतिले निकै सक्रियता लिएको देखिन्छ तर मर्जरको प्रशस्तै उदाहरण बनेको बैङ्किङ क्षेत्र भएता पनि नेपालको कर्पोरेट इतिहासमा इन्स्योरेन्स कम्पनीहरू मर्ज भएको उदाहरण भने खोज्न मुस्किल नै पर्ने गर्दछ ।
वाणिज्य बैङ्कहरूबिच मर्जरको निर्देशिकाले बजार तातिरहेका बेला बिमा कम्पनीहरू नेपाल राष्ट्र बैङ्कले ल्याएको नयाँ नीति पुँजी वृद्धिको प्रकोपमा परेको देख्न सकिन्छ ।बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन नसकेमा बिमा कम्पनीहरूले मर्जरको बाटो रोज्नु पर्ने जनाएको थियो। समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बिमा व्यवसाय गर्ने कम्पनीले २ अर्व र निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीले १ अर्व रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्ने निर्देशन दिएको थियो ।यसअघि क्रमशः ५० करोड र २५ करोड चुक्ता पुँजी हुनुपर्ने प्रावधान रहेको थियो ।
फोर्स मर्जर गर्ने नीति बिमा समितिको नभएको तर मर्जरको बाटो खुल्ला राखेको जनाएको थियो ।तोकिएको चुक्ता पुँजी पुर्याउन कठिन भएका कम्पनीहरूलाई पुँजी पुर्याउनका लागि मर्जरको ढोका खोलिदिएको थियो ।
बिमा समितिले दुई वर्ष अगाडि १३ वटा नयाँ बिमा कम्पनीलाई लाइसेन्स दिएको थियो । जसमा १० वटा जीवन बिमा कम्पनी र ३ वटा निर्जीवन बिमा कम्पनी रहेका थिए ।
त्यस पश्चात् समितिले जीवन बिमा कम्पनी जीवनसँग र निर्जीवन बिमा कम्पनी निर्जीवनसँग मर्जर तथा एक्विजेशनमा जाने गरेर निर्देशिका अघि सार्यो।जसमा बिमा कम्पनीहरू मर्जरमा जानको लागि बैङ्क तथा वित्तीय संस्थामा जस्तै सम्झौता गरेपछि सैद्धान्तिक स्वीकृतिको लागि बिमा समितिमा निवेदन दिनुपर्ने र बिमा समितिको स्वीकृतिसँगै सम्पत्ति दायित्व मूल्याङ्कन(डिडिए) गराएर सेयर स्वाप रेसियो कायम गर्नुपर्ने प्रावधान रहेको थियो ।
तर, निर्देशिका आएको लामो समय बितिसक्दा पनि बिमा क्षेत्रमा मर्जरको कुनै चहलपहल देखिएन । यता बिमा कम्पनीहरूले पनि हकप्रद र बोनस सेयर जारी गरेर पुँजी पुर्याउनेतर्फ लागे । तर, ३९ वटा निर्जीवन र जीवन बिमा कम्पनीहरूमध्ये अहिलेसम्म ४ वटा कम्पनीहरूले मात्रै पुँजी पुर्याएका छन् ।
पुँजी वृद्धिका विषयमा बिमा समितिले केही दिन अघि मात्रै बिमा कम्पनीका अधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो । छलफलमा बिमा कम्पनीका अधिकारीहरूले हकप्रद जारी गरेर चालु आर्थिक वर्षभित्रै पुँजी पुर्याइसक्ने प्रतिबद्धता जनाए र त्यस तर्कमा बिमा समितिका अधिकारीहरूले समेत सहमति जनाएका छन् । समितिको सहमतिपछि सबै बिमा कम्पनीहरूलाई सहज भएको छ । पुँजी नपुर्याएका सबै इन्स्योरेन्स कम्पनीहरूले हकप्रद सेयर जारी गर्ने योजना बनाएका छन् । यसै कारण अहिले अधिकांश जीवन बिमा कम्पनीको व्यवसाय बढेकाले कम्पनीहरू मर्जरमा जान आकर्षित नभएको देखिन्छ ।
नेपालमा अहिले करिब ७/८ प्रतिशत हाराहारी जनताले मात्र जीवन बिमा सुविधा लिएको देख्न सकिन्छ भने निर्जीवन बिमाको समेत गरी करिब १२ प्रतिशतको हाराहारी जनताले मात्र बिमा सुविधा पाएका छन् । सोही कारण अहिलेकै बजारमा प्रतिस्पर्धा गर्नु भन्दा ग्रामीण क्षेत्र तथा नयाँ तरिकाले बजार विस्तारका लागि योजना बनाउनु पर्ने अवस्था रहेको पनि देखिन्छ।
नेपालमा बिमाको बजार र व्यवसायको सम्भावना अथाह रहेको हुँदा नयाँ आउने कम्पनीसँग नयाँ सम्भावनाको खोजी गर्ने क्षमता हुनु जरुरी छ। देशका ग्रामीण किसान, वैदेशिक रोजगारमा जाने व्यक्ति, सामान्य तथा उच्च तहका कर्मचारीहरू समेत बिमाको दायरामा आइसकेका छैनन् । बिमाको महत्त्वको बारेमा मानिसहरू सुसूचित हुने क्रमसँगै यसको पहुँचकाे विस्तार जरुरी छ ।
नेपालमा बिमाको बजार हुँदै नभएको भने होइन, नेपाली बजारमा पछिल्लो समय बिमाको बजार बढ्दै गएको पनि छ । यो अवस्थामा मर्जरकै कारण फेरि बिमा कम्पनीहरू घट्ने हो भने बिमाको पहुँच विस्तारमा जनताको विश्वास उठ्ने छ र चुक्ता पुँजी वृद्धि गरेर बिमा कम्पनीहरूलाई वित्तीय रूपमा सबल बनाउने बिमा समितिको अभियान असफल हुन सक्छ ।