सिभिल बैंकको १०८ औं शाखा कलैयामा

ज्ञानमाण्डू।समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैङ्कले आफ्नो शाखा सञ्जालमा विशेष महत्त्व दिने रणनीति अनुरूप बैङ्कले आज बारा जिल्लाको कलैयामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बिच सिभिल बैङ्कका सञ्चालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रूपमा सिभिल बैङ्क लिमिटेडको कलैया शाखाको समुद्घाटन गरे । सोही अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयलाई सी.सी.टि.भि.क्यामेरा प्रदान गरियो ।

कलैया शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कलैया उप महानगरपालिकाका मेयर राजेश राय यादवले देशमा वित्तीय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तीय क्रान्तिमा लाग्न सुझाव दिए र आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैङ्कबाट कर्जा लिन आग्रह गरे तथा आफूसँग भएको सानो सानो पुँजीलाई पनि बैङ्कमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरेका छन् ।

उक्त अवसरमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गढि़माइ जस्तो पवित्र धार्मिक स्थल तथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बारा जिल्लाको कलैयामा प्रशस्त अवसरहरू आफूले देखेको र आफूले बैङ्कको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंगसेवा तथा सुविधाहरू प्रदान गर्ने बताए ।

उक्त समारोहका सभापति तथा सिभिल बैङ्कका सञ्चालक समितिका सदस्य युगेश बहादुर मल्लले बैङ्क भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैङ्कको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैङ्कका सञ्चालक समितिका सदस्य युगेश बहादुर मल्ल, कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल, सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल प्रहरी बाराका प्रमुख कृष्ण प्र. पंगेनी, उवा सङ्घका अध्यक्ष विनोद साह, कलैया उप–महानगरपालिकाका वडा नं ४ का अध्यक्ष जटा शङ्कर, सिभिल बैङ्कका प्रदेश २ का प्रमुख सुरज दाहाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कुरा बैङ्कले जनाएको छ ।

सिभिल बैङ्कको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरू रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैङ्कको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा सङ्ख्या १०८ पुगेको पनि बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x