
सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको एक साता बितिसक्दासमेत सञ्चालनमा नआउँदा नागरिकलाई समस्या परेको छ । जिल्लामा जारी बन्दाबन्दी खुला भए पनि यातायातका साधन नखुल्दा समस्या भएको स्थानीय लोकमणि गौतमले गुनासो गरे । साउन १ गतेदेखि यातायात सञ्चालन गर्ने विषयमा भएको छलफलमा अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न व्यवसायी सहमत नभएको यातायात व्यवसायी घनश्याम बस्नेतले बताए ।
उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस क्षेत्रका बैङ्कहरूसँग छलफल गरी चार महिनाको किस्तापछि दिलाउने तथा समय थपका लागि पहल गर्ने र मजदुरहरुको कोरोना बीमा ५० प्रतिशत उपमहानगरपालिकाले व्यहोर्ने जनाएको व्यवसायी बस्नेतले बताए । ‘‘नगरप्रमुखले साउन १ गतेदेखि यातायात सञ्चालन गर्नुपर्यो भनेर छलफल गर्नुभएको थियो, तर तत्काल हामीहरुले यातायात सञ्चालन गर्न सक्दैनौ भनेका छौँ”, व्यवसायी बस्नेतको भनाइ छ ।
व्यवसायीहरुले लकडाउन अवधिको बैङ्कको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनुपर्नेलगायतका माग राखेको यातायात व्यवसायी निमकुमार श्रेष्ठले जानकारी दिए ।
सरकारले असार २५ गते सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय भए पनि सो निर्णयअनुसार सवारीका साधन सञ्चालन नहुँदा समस्या उत्पन्न भएको छ ।रासस