चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदार

ज्ञानमाण्डू।शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र कामदारबाट कोरोना भाइरस (कोभिड १९) भित्रिएको पाइएको विश्लेषण गरिएको छ ।
 
जिल्लामा रहेका दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज, सुविधा सम्पन्न आँखा अस्पताल र दुई दर्जन जति निजी अस्पतालमा आउने बिरामीका साथै कृषि, उद्योग र निर्माण क्षेत्रमा काम गर्न आउने कामदारबाट अहिले जिल्लामा कोरोना सङ्क्रमण बढेको आँकलन गरिएको छ । बाहिरबाट आउने कामदारहरु परीक्षण नगरी आउने र यहाँ आएपछि पनि क्वारेन्टिनमा नबस्दा समस्या बढेको चिकित्सकहरु नै बताउँछन् । 

अस्पतालहरुमा पर्याप्त सुरक्षा सावधानी अपनाउन नसक्दा पनि सङ्क्रमण बढेको पाइएको छ । जिल्लाको कोरोना उपचारको केन्द्र अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्टसहित सात जना चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । त्यस्तै रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसहित स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित जिल्लाका निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएको पाइएको छ । 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै प्रदेश नं. २ का बिरामीले यहाँका अस्पताल भरिएको बताउँछन् । ती बिरामीहरु बिना परीक्षण आएसँगै सङ्क्रमण फैलिएको उहाँको अनुमान छ । उहाँले भन्नुभयो “मैले दिनमा १० जना बिरामी जाँच्दा चार जना प्रदेश नं. २ का छन् ।” यसरी आउने अन्य रोगका बिरामीमा पनि कोरोना सङ्क्रमण देखिने गरेको अध्यक्ष डा.अधिकारीले बताए । 

यससँगै उद्योग, कलकारखाना, कृषि र निर्माण क्षेत्रमा काम गर्न ल्याइएका मजदुर पनि कोरोना सङ्क्रमणको अर्काे कारण बनेको अध्यक्ष डा.अधिकारी बताउँछन् । 

लकडाउन सकिएसँगै अब कोरोना हट्यो भन्ने मानसिकताले स्वास्थ्य सावधानी अपनाउन नसक्दा समस्या झन् जटिल बनेको अधिकारी बताउँछन् । पहिले परीक्षण कम गर्दा नदेखिएको भए पनि परीक्षण बढाएसँगै सङ्ख्या बढ्दै गएको उअध्यक्ष डा.अधिकारीको तर्क छ । 

अस्पतालहरुले स्वास्थ्यकर्मी चिकित्सकलाई सुरक्षाका लागि सामग्री दिएको भए पनि पर्याप्त हुन नसक्दा पनि समस्या आएको अध्यक्ष डा.अधिकारीको बुझाई छ । अध्यक्ष डा.अधिकारीले भने “सुरक्षा सामग्री त दिएका छौँ तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार चल्न सकिएको छैन ।” 

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने ढाँटेर भारतदेखिका बिरामी यहाँ आउने गरेको बताउँछन् । प्रा.डा. न्यौपानेले भने “गम्भीर अवस्थामा आएका एक बिरामीले माडीको ठेगाना लेखेकोमा मृत्यु भएपछि भारतबाट आएको भन्दै पिसिआर रिपोर्ट मागे ।” वीरगञ्ज क्षेत्रमा कोरोना बढेसँगै उपचार नपाएर त्यस क्षेत्रका बिरामी यहाँका अस्पताल आएसँगै सङ्क्रमण बढ्दै गएको न्यौपानेले बताए । 

वीरगञ्जतिरबाट आएका बिरामीले हेटौँडासम्म एउटा एम्बुलेन्स र पूर्वी चितवनसम्म अर्काे हुँदै अस्पताल आउँदा तीन÷चार वटासम्म एम्बुलेन्स फेरेर आएको प्रा.डा. न्यौपाने बताउँछन् । यसरी एम्बुलेन्स फेर्दा समेत जोखिम बढी हुने गरेको डा. न्यौपानेको भनाई छ । 

चिकित्सक स्वास्थ्यकर्मीले पिपिई लगाएर काम गर्नै नसकेको न्यौपाने बताउँछन् । प्रा.डा. न्यौपानेले भने “सबै ठाउँमा एसी नहुने हुँदा चितवन जस्तो गर्मी ठाउँमा पिपिई लगाएर काम गर्न नसकिने अवस्था छ ।” मास्कसमेत लगाउने बानी नभएको भन्दै उहाँले बेलाबेलामा मास्क खोल्ने र हातले छुने गर्दा पनि जोखिम उच्च भएको डा. न्यौपानेले बताए । 

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य विजय सुवेदी रोग नियन्त्रणका लागि योजनाबद्ध किसिमले काम गर्न नसकिएका कारण समस्या भएको बताउँछन् । सुवेदीले भने “समग्र जिल्लाको रोग निधानका लागि व्यवस्थित योजना भएन । उपचार छ्यासमिस भयो ।” 

कोरोनाका सङ्क्रमित र अन्य बिरामी एकै ठाउँमा उपचार गर्दा पनि समस्या भएको सुवेदीको ठम्याई छ । स्वाब सङ्कलनका लागि पनि अस्पताल नै जानुपर्ने हुँदा त्यो पनि थप जोखिम भएको सुवेदीको भनाइ छ । अगुवाहरुले नै स्वास्थ्य सावधानी नअपनाउदा समुदायमा सकारात्मक सन्देश नदिएको सुवेदीको भनाई छ । 

लामो लकडाउनपछि स्वास्थ्य सावधानी अपनाउन सकेको भए यो अवस्था नआउने सुवेदी बताउँछन् । समयमै योजनाबद्ध रुपमा काम गर्न नसकेमा अन्य बिरामीले उपचार नपाउने अवस्था सिर्जना हुने सुवेदीको भनाई छ । 

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी लकडाउन खुकुलो भएसँगै कृषि र उद्योग क्षेत्रमा आएका कामदार र विदेशबाट आएका नेपालीले समुदायमा कोरोना फैलाएको बताउँछन् । लकडाउनको समयमा आएकाहरु क्वारेन्टिनमा बसेको भए पनि पछि आउनेहरु आफ्नो सुरमा हिँडडुल गर्ने गरेकाले समस्या भएको प्रमुख तिवारीले बताए । 

प्रमुख तिवारीले भने “लकडाउन खुकुलो भएपछि को आयो कता गयो पत्तो भएन, क्वारेन्टाइनमा पनि बसेन, कसैलाई मतलव पनि भएन ।” प्रमुख तिवारीले जिल्लामा कोरोना चौथो चरणमा पुगेको र ‘हाइ ट्रान्समिसन’ हुने अवस्था आएको बताए । 

प्रमुख तिवारीले थपे “लकडाउनलाई अझै केही समय कायम नगर्ने हो भने कोरोनाले प्राकृतिक कोर्ष पूरा गर्ने र त्यसले क्षति ठूलो गराउने छ ।” यसबाट ६० प्रतिशत जनसङ्ख्या प्रभावित हुने आँकलन गरिएको पनि प्रमुख तिवारीले बताए । 

यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशका विभिन्न क्षेत्र हुँदै भारतीयहरु पनि उपचारका लागि आउने गर्दछन् । अधिकांश बिरामी सीमावर्ती जिल्लाका हुने गरेका छन् । दैनिक ५०÷६० वटा एम्बुलेन्स बिरामी बोकेर आउने गर्दछन् । यसरी बिरामीको आवतजावत बढी हुँदा कोरोना सङ्क्रमण फैलिएको अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम बताउँछन् । 

सो अस्पतालमा कार्यरत सात जना स्टाफनर्स र तीन जना सरसफाइका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालको अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ । गौतम परीक्षण बिना सङ्क्रमित क्षेत्रका बिरामी धेरै आउँदा रोग फैलिएको बताउँछन् । 

सङ्क्रमण फैलन नपाओस् भन्नका लागि स्थानीय प्रशासन पहिलेदेखि नै चनाखो नबनेको भने होइन । तर लकडाउन खुलेसँगै स्थानीय प्रशासनको निर्देशन अवज्ञा भएका कारण अहिलेको अवस्था सिर्जना भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई बताउँछन् । प्रशासनलेजे आँकलन गर्‍यो त्यही अवस्था हुँदै आएको भन्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले, अटेर गरेकै कारण समस्या उत्पन्न भएको बताउँछन् । 

प्रमुख जिल्ला अधिकारी भट्टराईले भने , “प्रशासनले पटक पटक निर्देशन जारी ग गर्‍यो , तर त्यसको पालना भएन ।” उद्योग, कलकारखाना, कृषि, निर्माणमा काम गर्न आएका मजदुरले पुर्‍याउन पर्ने सावधानी नपुर्‍याउँदा ठूलो समस्या आएको प्रजिअ भट्टराई बताउँछन् । वीरगञ्जको उपचार सेवा प्रभावित भएसँगै त्यस क्षेत्रका बिरामी उपचारका लागि यहाँ आउनुको विकल्प नभएको भन्दै प्रजिअ भट्टराईले जुन सावधानी अपनाउनु पथ्र्याे, त्यो हुन नसक्दा अहिलेको अवस्था आएको बताउँछन् । 

भरतपुर महानगरपालिकाको अगुवाईमा जिल्लामा संक्रमण देखिनु अघिनै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल स्थापना गरिएको थियो । पछि सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको भए पनि हाल बन्द अबस्थामा रहेको छ । संक्रमितको उपचार भरतपुर अस्पतालले मात्रै गरिरहेको छ । पछिल्लो पटक निजी क्षेत्रबाट पुष्पाञ्जली अस्पतालले एक जना संक्रमित राखेर उपचार गरिरहेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ७५ श्ययाको भरतपुर अस्पतालको आईसोलेसन कक्ष भरिसकेको छ । ३० जना घरकै आइसोलेसनमा वसिरहेका छन् । आज एकै दिन थपिएका ५० जना सङ्क्रमितको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता जिल्लामा शुरु भएको पौडेलले बताए । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल कोरोना अस्पताललाई निरन्तरता नदिएर अरु बिरामी उपचार भएको अस्पताल र घरमा सङ्क्रमित राख्दा रोग फैलिएको बताउँछिन् । लकडाउनको समयमा महानगरले ५० वटा क्वारेन्टिन स्थापना गरेर विदेशबाट आएकाहरुलाई व्यवस्थित गरेको भए पनि लकडाउन खुले पछि देशकै बिभिन्न क्षेत्रबाट आएकाहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको प्रमुख दाहालको भनाई छ । 

देशैभरिबाट आएका क्यान्सरका बिरामी र प्रदेश नम्बर दुईबाट आएका बिरामीको उचित व्यवस्थापन हुन नसक्दा पनि सङ्क्रमण फैलिएको प्रमुख दाहालको बताउँछिन् । प्रमुख दाहालले भनिन्, “लक्षण देखिएर समस्या भएकालाई अस्पतालमा राख्नुपर्छ । अन्यलाई छुट्टै आइसोलेसनमा राखेमात्र रोग फैलनबाट रोकिन सक्छ ।” 

राजधानी काठमाडौँ जान कडाइ गरिएपछि तराईका बिरामीहरुको उपचारको केन्द्र भरतपुर बनेको छ । सबै खालका उपचार हुने भएकाले वीरगञ्ज प्रभावित भएसँगै सीमावर्ती क्षेत्रका बिरामी धमाधम यहाँ आउने गरेका छन् । 

हालसम्म जिल्लामा २५५ जनामा सङ्क्रमण भएको छ । जसमध्ये २९ जना स्वास्थ्यकर्मी र चिकित्सक छन् । जिल्लाको प्रयोगशालामा १५ हजार हाराहारी नमूना परीक्षण भइसकेको छ । जसमध्ये जिल्लाका चार हजार नमूना परीक्षण गरिएको छ । 

सङ्क्रमितमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका १३२ जना छन् । यस्तै कालिका नगरपालिकाका पाँच, रत्ननगर नगरपालिकाका नौ, माडी नगरपालिकाका ४१ जना, खैरहनी नगरपालिकाका सात जना, राप्ती नगरपालिकाका ६० जना र इच्छाकामना गाउँपालिकाका एक जना रहेका छन् । 

जिल्लामा पछिल्ला दिनहरुमा सङ्क्रमण बढ्दै गएपछि माडी नगरपालिका बाहेक सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका उच्च तहका व्यक्तिहरु नै कन्ट्याक्ट ट्रेसिङमा परेकोले अहिले क्वारेन्टिानमा रहेका छन् । प्रदेश सभाका तीन सदस्य, भरतपुर महानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख नेताहरु, मेडिकल कलेज र क्यान्सर अस्पतालका प्रमुख लगायत क्वारेन्टिनमा रहेका छन् । 

चितवन जिल्ला नेपालको मध्य भागमा पर्दछ । राजधानी काठमाडौँ, पोखरा लगायतका शहरहरुलाई तराईसँग जोड्ने मुख्य विन्दु चितवन हो । यातायातको सहज पहुँचका कारण पूर्वदेखि पश्चिमसम्मका मानिसहरु सुविधा लिन यहाँ आउने गर्दछन् । 

मेडिकल सिटीका रुपमा परिचय पाएको यो जिल्ला देशकै तेस्रो पर्यटकीय गन्तव्य पनि हो । यस्तै शिक्षाको प्राप्तिका लागि आवश्यक पूर्वाधारका हिसाबले पनि जिल्ला उत्कृष्ट मानिन्छ । देशभरका ७६ जिल्लाका मानिसहरुको बसोबास यस जिल्लामा छ । जसका कारण विभिन्न जिल्लाबाट मानिसहरुको आवतजावत भइरहन्छ । यो पनि यहाँ पछिल्ला दिनहरुमा कोरोना महामारी फैलनुको एक कारण बनेको बताइन्छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x