ज्ञानमाण्डू नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सरकारले पहल लिएर लगानीको वातावरण बनाउन सक्यो भने निजी क्षेत्र आक्रामक रुपमा लगानी बढाउन तयार रहेको बताउनुभएको छ ।
जलेश्वर उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र रोजगारी सृजना, राजश्व संकलन तथा भौतिक पूर्वाधार निर्माणमा सधै अगाडि रहेको र सरकारले थोरै मात्र पनि सकारात्मक वातावरण बनाउने हो भने यसले आक्रामक रुपमा लगानी बढाउन तयार रहेको बताउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला/नगरतहका स्थानीय व्यवसायीहरुले भोगेका समस्या एकै किसिमका रहने गरेका र सानो प्रयासले पनि धेरै समस्याहरु समाधान गर्न सकिने बताउँदै ती समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले पहल गर्ने बताउनुभयो ।
ढकालले स्थानीय तथा प्रदेश सरकारहरुबीच विकास निर्माणका काममा एकप्रकारको प्रतिष्पर्धा जस्तो रहेको बताउँदै स्थानीय व्यवसायीहरुले स्थानीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य समन्वय गर्न आवश्यक रहेको बताउनुभएको छ ।
“स्थानीय र प्रदेश सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्यो भने मात्र द्रुत विकास सम्भव हुनेछ । तपाईहरुले हामीलाई सहजीकरण गर्नुस् । हामी लगानी ल्याउन तयार छौं,” उहाँले भन्नुभयो । स्थानीय व्यवसायीहरुसँग साझेदारीमा स्थानीयस्तरमा आयोजनाहरु सञ्चालन भइरहेको बताउँदै उहाँले थप आयोजनाहरुको पहिचान भएमा त्यस्ता सम्भावनायुक्त आयोजनाहरुमा महासंघको तर्फबाट तथा व्यक्तिगत तर्फबाट लगानी जुटाउनका लागि आफूले पहल लिने उहाँले बताउनुभयो ।
बारा–पर्सा औद्योगिक करिडोर, त्यहाँका उद्योगका समस्या, सम्भावना आफूले बुझेको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि स्थानीय उद्योग वाणिज्य संघहरुले पहल गर्न आग्रह गर्नुभयो । “तपाईहरुले पहल गर्नुस् । यहाँका समस्याहरुबारे एउटा वृहत छलफलनको आयोजना गर्नुस् । हामी केन्द्रबाट तपाईहरुलाई आवश्यक सहयोग गर्न तयार छौं,” उहाँले भन्नुभयो । प्रदेश २ को प्रमुख आर्थिक नगरी वीरगन्जदेखि साँस्कृतिक नगरी जनकपुरसम्म आफ्नो व्यावसायिक सम्बन्ध रहेको उहाँले बताउनुभयो ।