ज्ञानमाण्डू।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताउनुभएको छ ।
शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताउनु भएको छ ।

बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गालि गरेर बस्ने अवस्था नरहेको बताउनुभयो ।
“अहिले बैंकको व्याज दर र आधार दर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ । अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनु पर्ने बेला आएको छ,” उहाँले भन्नुभयो ।
मुलुकभित्र लगानी मैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उहाँले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने कुरा बताउनुभयो ।
उहाँले निर्वाचन पछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नएको बताउनुभयो ।
“निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले आज सुरुभएको यस काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्ने बताउनुभयो ।
जिल्ला नगरका साना व्यवसायिहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षम रहेको बताउँदै उहाँले जिल्ला÷नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँले गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताउनुभयो ।