“एनएमबि ऋणपत्र ८.५०% २०८७/८८" मा आवेदन दिने आज अन्तिम दिन


ज्ञानमाण्डू।एनएमबि बैंक लिमिटेडले मिति २०७८ जेठ २ गते देखि निष्काशन खुला गरेको “ एनएमबि ऋणपत्र ८.५०% २०८७/८८" मा आवेदन दिने आज मिति २०७८ जेठ ५ गते अन्तिम दिन रहेको छ ।

बैंकले रु. २ अर्ब बराबरको, रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका दरले कुल २० लाख कित्ता हुन आउने ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थाहरु लाई व्यक्तिगत (Private Placement) तवरबाट बिक्री गर्नेछ । बाँकी रहेको ८० करोड रुपैयाँ बराबरको कुल ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला भएको हो । त्यस्तै, बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको ८ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

एनएमबि बैंक लिमिटेडले निष्काशन गरेको “ एनएमबि ऋणपत्र ८.५०% २०८७/८८" ऋणपत्रको अवधि १० वर्षको हुने छ । वार्षिक ८ दशमलव ५ प्रतिशतका दरले लगानीकर्ताहरुलाई उक्त ऋणपत्र बापत अर्धवार्षिक(६/६ महिनामा साउन १ र माघ १ गते) रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्यका लागि सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ।

एनएमबि बैंकद्धारा जारी गरिएको यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण अर्थात ८ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र बिक्री छिटोमा जेठ ५ गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए ऋणपत्र बिक्री ढिलोमा जेठ १६ गते सम्म लम्बिने छ ।

यस बैंकलाई ईक्रा नेपाल लिमिटेडले"[ICRANP-IR] A- ; " (Pronounced ICRA NP Issuer Rating A minus) रेटिङ्ग अप्रिल २७, २०२१ मा प्रदान गरेको छ । उक्त रेटिङ्गले adequate degree of safety regarding the timely servicing of financial obligations जनाउँदछ । यो रेटिङ्ग प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ । उक्त रेटिङ्गको समयावधि रेटिङ्ग प्रदान गरिएको मितिबाट १२ महिनासम्म कायम रहनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा(ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका
तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा(CASBA) प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x