आइपिओ निष्काशन गर्न बाँकी ५ जीवन बीमा कम्पनीहरूलाई वित्तीय क्षमताका आधारमा दाँजेर हेर्दा !

Life Insurance

ज्ञानमाण्डू। हाल नेपालमा सञ्चालनमा रहेका जामा १९ वटा जीवन बीमा कम्पनीहरू मध्ये १२ जीवन बीमा कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचिकृत रहेका छन्। सार्वजनिक तवरले प्राथमिक शेयर निष्काशन गर्न बाँकी रहेका ७ कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स र सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थान हुन्।

रिलायबल नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्स दुवै प्राथमिक शेयरको सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रतीक्षामा छन्। दुवै कम्पनीको आइपिओ सेवनको पाइपलाइनमा छ भने बाँकी रहेका अन्य कम्पनीले आउँदो भविष्यमा सार्वजनिक तवरले प्राथमिक शेयर निष्काशन गरी सर्वसाधारणलाई आफ्नो व्यवसायको प्रतिफल अवश्य वितरण गर्ने छन् ।

आइपिओ निस्काशन गर्ने कम्पनी कस्तो छ, मुनाफा कस्तो छ र व्यवसाय कस्तो छ भन्ने प्रश्न हरेक लगानीकर्ताको साझा सवाल हो। सोही अनुरूप प्राथमिक शेयर निष्काशन गर्न बाँकी रहेका रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास यहाँ गरिएको छ।




चुक्ता पुँजीको आधारमा : तुलनात्मक रूपमा हेर्दा यी पाँच इन्स्योरेन्सहरु मध्ये सिटिजन लाइफको चुक्ता पुँजी सर्वाधिक रहेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सिटिजन लाइफको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको चुक्ता पुँजीमा कुनै फेरबदल भएको छैन।

सोही अवधिमा रिलायबल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको चुक्ता पुँजी समान १ अर्ब ४० करोड रहेको देख्न सकिन्छ । यी चार इन्स्योरेन्सको चुक्ता पुँजी पनि गत आर्थिक वर्षको सोही अवधिको बराबर रहेको छ।

जगेडा कोषको आधारमा : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिलायबल लाइफको जगेडामा ९१ करोड ६ लाख सञ्चित छ भने सिटिजन लाइफको जगेडा कोषमा ७६ करोड ५८ लाख सञ्चित छ । सोही अवधिमा आइएमई लाइफको जगेडा कोषमा ५१ करोड ७० लाख, सन नेपाल लाइफको जगेडा कोषमा ३५ करोड ५२ लाख र महालक्ष्मी लाइफको जगेडा कोषमा २० करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा महालक्ष्मी लाइफको जगेडा कोष १००.१४ प्रतिशतले वृद्धि हुँदा सिटिजन लाइफको जगेडा कोष ४०.८ प्रतिशतले, सन नेपाल लाइफको जगेडा कोष ३१.९८ प्रतिशतले, रिलायबल लाइफको जगेडा कोष ३०.१८ प्रतिशतले र आइएमई लाइफको जगेडा कोष २९.५३ प्रतिशतले बढेको छ ।

जीवन बीमा कोष : इन्स्योरेन्सहरुले प्रकाशित तथ्याङ्क अनुसार समीक्षा अवधिमा सर्वाधिक जीवन बीमा कोष सिटिजन लाइफको रहेको छ। सिटिजन लाइफको जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने आइएमई लाइफको जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड रहेको छ। सोही अवधिमा रिलायबल लाइफको जीवन बीमा कोषको आकार ३ अर्ब ३ करोडको, सन नेपाल लाइफको २ अर्ब ६६ करोडको र महालक्ष्मी लाइफको १ अर्ब ५३ करोड रुपैंयाको रहेको छ।

समीक्षा अवधिमा सिटिजन लाइफको जीवन बीमा कोष १११.४० प्रतिशतले वृद्धि हुँदा रिलायबल लाइफको १००.२४ प्रतिशतले वृद्धि भएको छ भने आइएमई लाइफको जीवन बीमा कोष ९४.८८ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा सन नेपाल लाइफको जीवन बीमा कोष ७४.८४ प्रतिशतले वृद्धि हुँदा महालक्ष्मी लाइफको ५८.८४ प्रतिशतले बढेको छ। जीवन बीमा कम्पनीहरूको लागि जीवन बीमा कोषको निकै महत्त्व रहेको हुन्छ ।

महाविपत्ति कोष : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिलायबल लाइफको महाविपत्ति कोषको आकार अन्य चार इन्स्योरेन्सको तुलनामा ठुलो रहेको छ। रिलायबल लाइफको महाविपत्ति कोषमा ८ करोड ७३ लाख सञ्चित छ भने सिटिजन लाइफको महाविपत्ति कोषमा ८ करोड ४४ लाख सञ्चित छ। सोही अवधिमा आइएमई लाइफको महाविपत्ति कोष ५ करोड ५७ लाख रुपैयाँको, सन नेपाल लाइफको ३ करोड ९४ लाख रुपैयाँको र महालक्ष्मी लाइफको २ करोड ३२ लाख रुपैंयाको रहेको छ।

खुद बीमा शुल्क आर्जन : तुलनात्मक रूपमा हेर्दा चालु आर्थिक वर्षको प्रथम तीन महिनामा सिटिजन लाइफको खुद बीमा शुल्क आर्जन सर्वाधिक रहेको छ। गत आ.व.को सोही अवधिको तुलनामा १००.२२ प्रतिशतले वृद्धि हुँदै सिटिजन लाइफको खुद बीमा शुल्क आर्जन १ अर्ब २१ करोड पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा रिलायबल लाइफको खुद बीमा शुल्क आर्जन ७०.०१ प्रतिशतले वृद्धि भई ९२ करोड ८९ लाख कायम हुँदा आइएमई लाइफको खुद बीमा शुल्क आर्जन ४९.७४ प्रतिशतले वृद्धि हुँदै ७९ करोड २४ लाख पुगेको छ।

यता, समीक्षा अवधिमा सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ४२.१७ प्रतिशतले वृद्धि भई ५७ करोड ४८ लाख र महालक्ष्मी लाइफको खुद बीमा शुल्क आर्जन ३९.२५ प्रतिशतले वृद्धि भई ३२ करोड ५२ लाख रहेको छ।

खुद मुनाफा : चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तुलना गरिएका जीवन बीमा कम्पनीहरू मध्ये सर्वाधिक नाफामा रिलायबल नेपाल लाइफको छ। गत आ.व.को सोही अवधिको तुलनामा रिलायबल लाइफको खुद मुनाफा १३ दशमलव १ प्रतिशतले बढ्दै ७ करोड ४५ लाख पुगेको छ भने सिटिजन लाइफको खुद मुनाफा १ दशमलव ८२ प्रतिशतले बढेर ६ करोड २२ लाख पुगेको छ। यता, सर्वाधिक नाफा वृद्धि गरेको सन नेपाल लाइफको खुद मुनाफा ५ करोड २ लाख पुगेको छ। गत आ.व.को सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद मुनाफा ९७.१४ प्रतिशतले वृद्धि भएको हो।

त्यसै गरी, समीक्षा अवधिमा आइएमई लाइफको खुद मुनाफा १ दशमलव ३२ प्रतिशतले बढेर ४ करोड ३६ लाख पुग्दा महालक्ष्मी लाइफले ४ दशमलव ८९ प्रतिशतको वृद्धि गर्दै २ करोड ४२ लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरूको हकमा भने एक्चुअरी मूल्याङ्कन हुन बाँकी रहेको हुँदा खुद मुनाफा एक्चुअरी मूल्याङ्कन पश्चात् मात्र वास्तविक आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x