
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारण सभा आगामी पुस ६ गते सोमबार बोलाएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजेदेखि सभा सुरु हुनेछ।
सभाले हाल कम्पनीमा कायम नेपाल सरकारको ४४.०३९० प्रतिशत सेयर स्वामित्व नघट्ने गरी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ। यसका लागि नेपाल सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा सरकारका तर्फबाट हकप्रद सेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव सभामा पेस हुनेछ।
त्यसै गरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने र नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
मङ्सिर २४ गते बुक क्लोज
साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मङ्सिर २३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका शेयर धनीले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन्।
