नेपाल बैंकर्स संघको उपाध्यक्ष पदमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल चयन भएका छन्। संघको ४०औँ वार्षिक साधारणसभाबाट खनाल उपाध्यक्षमा चुनिएका हुन्।
यसअघि संघको कार्यसमिति सदस्य रहेका खनाललाई उपाध्यक्ष बनाउने विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबीच सहमति जुटेको थियो। सोही सहमतिअनुसार साधारणसभाले उनलाई उपाध्यक्षको जिम्मेवारी दिएको हो।
नयाँ कार्यसमिति गठनसँगै संघको संरचनामा पनि हेरफेर भएको छ। खनाल उपाध्यक्षमा उक्लिएपछि रिक्त हुने कार्यसमिति सदस्य पदमा नयाँ कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ। बैंकिङ क्षेत्रका साझा एजेन्डा, नीतिगत पैरवी र बैंकहरूबीचको समन्वयमा उपाध्यक्षका रूपमा खनालको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।
नेतृत्व चयनसँगै नेपाल बैंकर्स संघको कार्यसमितिमा समेत फेरबदल भएको छ। साधारणसभाबाट एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह कार्यसमितिबाट बाहिरिएका छन्। संघको विधानअनुसार दुई कार्यकालभन्दा बढी कार्यसमितिमा रहन नपाइने व्यवस्थाका कारण खालिङ बाहिरिएका हुन् भने लक्ष्मी सनराइज बैंकमा आफ्नो कार्यकाल पूरा भएसँगै शाह कार्यसमितिबाट अलग भएका हुन्।
उनीहरूको स्थानमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य कार्यकारिणी सदस्यका रूपमा चयन भएका छन्। नवनियुक्त कार्यसमितिमा अब अध्यक्ष रेग्मी र उपाध्यक्ष खनालसँगै नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, नेपाल बैंकका तिलकराज पाण्डे, सिद्धार्थ बैंकका रामेश्वर बस्याल र सानिमा बैंकका पवन आचार्य सदस्यका रूपमा रहनेछन्।
वाणिज्य बैंकहरूको छाता संगठनका रूपमा रहेको बैंकर्स संघले बैंकिङ क्षेत्रका नीतिगत व्यवस्था, नियामकीय प्रावधान, ब्याजदर, तरलता व्यवस्थापन तथा साझा समस्याका विषयमा नेपाल राष्ट्र बैंक र सरकारसँग समन्वय गर्दै आएको छ। नयाँ नेतृत्वले आगामी दिनमा लिने संस्थागत पहल र प्राथमिकतालाई बैंकिङ क्षेत्रले महत्त्वका साथ हेरेको छ।
बैंकर्स संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
