नेपालमा १२ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए


आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार भारत सबैभन्दा ठुलो स्रोत बजारका रूपमा रहेको छ भने अमेरिका र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा भारतबाट ३ लाख ११ हजार ५३१, अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्। कुल विदेशी पर्यटक आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ।

यसै गरी बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल भ्रमणमा आएका छन्।

महिनागत रूपमा हेर्दा गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा नेपाल आएका छन्। सो महिनामा १ लाख २४ हजार ८२९ विदेशी पर्यटक भित्रिएका थिए। त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डले भारत र चीनजस्ता प्रमुख स्रोत बजारलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको जनाएको छ। गत आर्थिक वर्षमा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई र नयाँ दिल्ली लगायत विभिन्न सहरमा १२ भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। समग्रमा अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार आर्थिक वर्षको अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएका झापादेखि कञ्चनपुरसम्मका क्षेत्रमा क्रस–बोर्डर पर्यटन मार्ट तथा मेलाहरू सञ्चालन गरिएको थियो। यसबाट सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको बोर्डको विश्लेषण छ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय प्रवर्द्धन, हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सुधार देखिएको बताउनुभयो। उहाँको अनुसार पछिल्लो पर्यटक आगमनले नेपाली पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको सङ्केत गरेको छ।

उहाँले चीन, अमेरिका, अस्ट्रेलिया र बङ्गलादेशजस्ता उच्च सम्भावना भएका बजारमा लक्षित प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सेल्स मिसनलाई थप प्रभावकारी बनाउने आवश्यकता औँल्याउँदै चालु आर्थिक वर्षमा पर्यटक आगमन अझ वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयाे। साथै, सरकारले घोषणा गरेको 'आरोग्य पर्यटन वर्ष २०२७' लाई सफल बनाउन उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, बसाइ अवधि लम्ब्याउने तथा नयाँ अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाइने बोर्डले जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x