विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो, अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावी पुस्तालाई समेत गरिबी र अभावको दुष्चक्रमा पार्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गर्नुभयो ।

“नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्‍याउने सोच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,” उहाँले भन्नुभयो ।

मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठुला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठुलो पुँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताउनुभयो ।

“हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ” उहाँले भन्नुभयो ।

ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसङ्ग उठाउँदै उहाँले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठुला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र समृद्धि प्रमुख भूमिका खेल्न सक्ने बताउनुभयो ।

“म यो दशैँ लगत्तै कोरोलासम्म पुगेर आए । कोरोला नाकादेखि सुनौली नाकासम्म पनि गाडीमै पुगेँ । बाटोको सुविधाले पहिलेभन्दा निकै सहज भइसकेको रहेछ । बाटोको स्तरोन्नति गर्दै कोरोला नाकामा केही पूर्वाधार विकास गर्न सके, यो नाका दुई मुलुकलाई जोड्ने छोटो र सहज नाका बन्न सक्छ । हाम्रो गण्डकी प्रदेशले पनि ठुलै फाइदा लिन सक्छ । यसमा प्रदेश सरकारले विशेष ध्यान दिओस्,” उहाँले भन्नुभयो ।

आफू महासङ्घको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै उहाँले वैदेशिक लगानी भित्र्याउन महासङ्घले पहल गरिरहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गर्नुभयो ।

“हामीले आफ्नो कार्यकालमा कुन कुन नीति, नियमहरू परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउने काम गर्‍यौँ, कुन कुन आयोजना सुरु गर्‍यौँ वा कुन कुन आयोजना सम्पन्न गर्‍यौँ । त्यसले नै हाम्रो सफलता वा असफलताको सङ्केत गर्नेछ । त्यसैले हामीले नतिजा निकाल्ने गरी काम गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

मुलुकमा बढ्दै गएको नैराश्ययतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताउँदै यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल उद्योग वाणिज्य महासङ्घको अगुवाइमा नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको छ । यहाँहरूसँग व्यावसायिक सोच छ, त्यसमा इक्विटीको अभाव छ । तपाईँहरूको उक्त सोचमा त्यस कम्पनीले लगानी गर्नेछ भने यहाँहरूसँग बचत छ र कुनै सम्भावित आयोजनामा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तपाईँहरूले पनि यस कम्पनीमार्फत त्यसमा लगानी पनि गर्न सक्नुहुन्छ,” उहाँले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x