माउन्ट एभरेष्ट पावरको आइपिओ आज देखि सर्वसाधारणका लागि खुला


माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको शेयर बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा निष्कासन सुरु गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो।

कुल निष्कासित शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको ८ लाख ६० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित १ लाख ७२ हजार कित्ता शेयर यस अघि नै बाँडफाँट भइसकेको छ।

यस्तै, कम्पनीले कर्मचारीका लागि ३४ हजार ४०० कित्ता र सामूहिक लगानी कोषका लागि ८६ हजार कित्ता शेयर छुट्टाएको छ। यी सबै हिस्सा बाहेक बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार आइपिओ छिटोमा असार ८ गतेभित्र बन्द हुनेछ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि असार १७ गते सम्म लम्बिन सक्नेछ।

इच्छुक लगानीकर्ताले आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत सी–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x