७ महिनामा व्यापार घाटा १० खर्ब माथि, निर्यातमा भने ८८ प्रतिशतकाे वृद्धि

import and export of nepal

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले १ खर्ब ३१ अर्ब बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्षको साउन देखि माघ मसान्तसम्ममा मात्रै १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।

पछिल्ला आर्थिक वर्षको तथ्याङ्कलाई मूल्याङ्कन गर्दा निर्यातको व्यापार खर्ब पुर्‍याउन निकै अप्ठ्यारो हुने नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमै भने खर्ब बढीको निर्यात व्यापार गर्न सफल भएको प्रतिवेदनले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ८८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ को माघ मसान्तसम्मको अवधिमा नेपालबाट कुल ६९ अर्ब ९१ करोड रुपैंया अधिकको वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा निर्यात तर्फको व्यापार बढिरहँदा आयातको व्यापारमा पनि नेपालले उल्लेखनीय छलाङ मारेको देखिन्छ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालले विभिन्न देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ अधिकको वस्तु आयात गरी खपत गरेको देखिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४२.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ०३ अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।


यता आयात र निर्यात दुवै उकालो लाग्दा व्यापार घाटा पनि सोही अनुरूप ३८ दशमलव ४५ प्रतिशतले उकालो लागेको छ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालले १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ अधिक रहेको थियो ।

यसरी निर्यात व्यापार बढिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा २८.६३ प्रतिशतले वृद्धि हुँदै १० प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ८ प्रतिशतमा सीमित रहेको थियो । यता, उकालो लाग्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ९० प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९२ प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा २ दशमलव ४९ प्रतिशतको गिरावट आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x