‘एलएस होराइजन १२’ मा उच्च आकर्षण, समयअघि नै बन्द भयो इकाई बिक्री

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्वारा व्यवस्थापन गरिएको बन्दमुखी म्युचुअल फण्ड योजना ‘एलएस होराइजन १२’ मा अपेक्षाभन्दा उच्च आवेदन परेको छ। अत्यधिक आवेदन परेपछि कम्पनीले निर्धारित समयअघि नै इकाई बिक्री बन्द गरेको जनाएको हो।

वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन खुला गरिएको उक्त योजनामा केही कार्य दिनमै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आवेदन परेको कम्पनीले जनाएको छ।

लक्ष्मी सनराइज बैङ्क लिमिटेड कोष प्रवर्द्धक रहेको योजनाले कुल १२ करोड इकाई निष्कासन गरेको थियो। तीमध्ये १ करोड ८० लाख इकाई बीज पुँजीका रूपमा लक्ष्मी सनराइज बैङ्कका लागि सुरक्षित गरिएको थियो भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाइएको थियो।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। आवेदन सङ्कलन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थामार्फत गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार छोटो अवधिमै उच्च आवेदन पर्नुले सामूहिक लगानी योजनाप्रति नेपाली लगानीकर्ताको विश्वास बढ्दै गएको सङ्केत गरेको छ। पछिल्लो समय घट्दो ब्याजदर, वैकल्पिक लगानी क्षेत्रको खोजी तथा पुँजी बजार सुधार हुने अपेक्षाले म्युचुअल फण्ड योजनातर्फ आकर्षण बढेको विश्लेषण गरिएको छ।

उक्त योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले नै सम्हालेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x