पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको मन्तव्य

नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणालाई स्वीकार गरी यहाँ उपस्थित हुनुभएको सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै न्यानो स्वागत गर्न चाहन्छु ।

पत्रकार मित्रहरूसँग प्रत्यक्ष भेटघाट र विचार आदान–प्रदान गर्ने हाम्रो परम्परा रहँदै आएको छ ।

यो कार्यक्रम केवल धन्यवाद ज्ञापन मात्र नभई निजी क्षेत्र र सञ्चार क्षेत्र बिच राष्ट्रको आर्थिक विकासबारे साझा दृष्टिकोण निर्माण गर्ने महत्त्वपूर्ण अवसर हो भन्ने विश्वास लिएको छु ।

आदरणीय पत्रकार मित्रहरू,
मैले महासङ्घको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा थियो । कोभिड–१९ महामारीको असर, अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले समग्र अर्थतन्त्रलाई कमजोर बनाएको थियो ।

त्यस्तो जटिल अवस्थामा हाम्रो पहिलो प्राथमिकता निजी क्षेत्रको मनोबल जोगाउनु, आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउनु र लगानीमैत्री वातावरण निर्माण गर्नु थियो । 

मैले पदभार ग्रहण गर्दै गर्दा ५ वटा मुख्य प्राथमिकता अघि सारेको थिए ।

पहिलो तत्कालीन अवस्थामा रहेको आर्थिक सङ्कट समाधानका लागि पहल गर्ने,

दोस्रो स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने,

तेस्रो राज्य र निजी क्षेत्र बिचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने,

चौथो दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने

र पाँचौँमा व्यवसायीहरूको मनोबल उच्च बनाउन व्यवसाय तथा व्यवसायीको सम्मान र सुरक्षाका विषय रहेका थिए ।

तीन वर्षको अवधिमा मैले अघि सारेका सबै विषयमा उल्लेखनीय कामहरू गर्न हामी सफल भएका छौँ।

सबैभन्दा पहिलो, नीतिगत सुधार र हस्तक्षेपमा महासङ्घले नयाँ उचाइ हासिल गरेको छ । परम्परागत रूपमा माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएका छौँ ।

राष्ट्रिय आर्थिक बहसको आयोजना गर्दै सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउने काम गरियो । यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भयो, जसले ३० भन्दा बढी कानुन सुधारका सिफारिस गर्दै लगानी वातावरण सुधारका लागि महत्त्वपूर्ण आधार तयार गरेको छ ।

निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय तथा कलकारखानाहरूलाई समेत शान्ति क्षेत्रको रूपमा घोषणा गरिएको छ । हालै निर्वाचनपछि बनेको करिब दुईतिहाई बहुमतको सरकारको पहिलो क्याबिनेट बैठकले हाम्रो प्रस्ताव अनुसार निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरी निजी क्षेत्र, लगानी र व्यवसायको सुरक्षा र सम्मानको ग्यारेन्टी गरेको छ ।

त्यसै गरी, महासङ्घकै पहलमा दुई पक्षीय लगानी सम्झौता (बीआईए) मस्यौदा तयार भई परराष्ट्र मन्त्रालयमार्फत नेपाली दूतावासहरूले विभिन्न मुलुकहरूसँग सम्झौताका लागि अघि बढाएको अवस्था छ ।

यसले लगानीको वातावरण थप सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिकालाई थप विस्तार र व्यापक बनाउने हाम्रो विश्वास छ ।

राज्य–निजी क्षेत्र सम्बन्धलाई सहकार्यमा रूपान्तरण गर्ने काम हाम्रो कार्यकालको दोस्रो महत्त्वपूर्ण उपलब्धि हो ।

हामीले राज्य र निजी क्षेत्रबिच रहने टकराबको संस्कृतिबाट बाहिर निस्कँदै सहकार्य र साझेदारीमा आधारित सम्बन्ध निर्माण गरेका छौँ। निजी क्षेत्रलाई अख्तियारको नियमनको दायरामा ल्याउने प्रस्तावलाई परिमार्जन गराउँदै लगानीमैत्री वातावरण जोगाउन सफल भएका छौँ। यसले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ ।

सरकार, नेपाल विद्युत् प्राधिकरण र उद्योगी व्यवसायीहरूबिचको लामो समयदेखिको डेडिकेटेड फिडर तथा ट्रङकलाइन महसुल विवादलाई मध्यस्थता गर्दै दिगो समाधानका लागि प्रयास गरिएको छ ।

तेस्रो, आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धनमा ठोस पहल गरिएको छ।

देशभित्र सानो–सानो पुँजीलाई एकीकृत गर्दै १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको छ, जसले पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरेको छ।

साथै, अन्तर्राष्ट्रिय स्तरमा लगानी फोरम र द्विपक्षीय संवादमार्फत नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास पनि गरिएको छ। 

यस बिच भारत, चीन, संयुक्त अरब इमिरेटस्, कतार, बेलायतलगायत थुप्रै मुलुकमा महासङ्घले द्विपक्षीय लगानी सम्मेलन तथा संवादका कार्यक्रमहरू आयोजना गरेर नेपालमा रहेका सम्भावनाका क्षेत्रहरू उजागर गर्ने र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पहल गर्ने काम गरेको छ ।

चौथो, संस्थागत रूपान्तरण र सुशासनमा महत्त्वपूर्ण कदम चालिएको छ।

लामो समयदेखि विवाद र बहसको विषय बन्ने गरेको महासङ्घको विधान सर्वसम्मत रूपमा संशोधन गर्दै नेतृत्व चयन प्रक्रियालाई थप समावेशी, पारदर्शी, प्रतिस्पर्धी र उत्तरदायी बनाइएको छ । अध्यक्षको प्रत्यक्ष निर्वाचन सँगै महिला सहभागिता वृद्धि, जिल्ला–नगरको प्रतिनिधित्व सुदृढीकरण लगायतका सकारात्मक परिवर्तनहरू गरिएका छन् ।

त्यसै गरी, निजी क्षेत्रलाई विकास साझेदारको रूपमा स्थापित गर्ने आधार तयार गरिएको छ ।

निजी क्षेत्रलाई केवल दबाब समूह होइन, राष्ट्रको आर्थिक विकासको सहयात्रीका रूपमा स्थापित गर्न हामी सफल भएका छौँ ।

पहिलो पटक मुलुकमा निजी क्षेत्रको योगदान बारेमा अनुसन्धान गरी “निजी क्षेत्रको अवस्था”बारे रिपोर्ट प्रकाशित गरेका छौँ । यसले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बारे तथ्यगत विवरण प्रस्तुत गरेको छ । जसले हामीलाई सरकार तथा अन्य निकायसँग तर्क, बहस र पैरवी गर्न थप सबल बनाएको छ ।

आदरणीय पत्रकार मित्रहरू,
यी सबै प्रयासहरूलाई आम जनमानससम्म पुर्‍याउने, नीतिगत बहसलाई सशक्त बनाउने र सरकार, निजी क्षेत्र तथा नागरिकबिच सेतुको भूमिका निर्वाह गर्ने कार्यमा यहाँहरूको योगदान अतुलनीय छ ।

विशेष गरी आर्थिक पत्रकारहरूले तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र दूरदर्शी सुझावमार्फत नीतिगत सुधारलाई मार्गदर्शन गर्नुभएको छ । यहाँहरूको लेखनीले हामीलाई अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी बन्न प्रेरित गरेको छ ।

पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति हो । त्यसैले हामी तपाईँहरूको भूमिकालाई उच्च सम्मानका साथ लिन्छौँ ।

हामी चाहन्छौँ कि महासङ्घ र सञ्चार क्षेत्र बिचको यो सहकार्य अझ सुदृढ हुँदै जाओस् । नियमित संवाद, सहकार्य र पारदर्शितामार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउने हाम्रो साझा लक्ष्य हो ।

अन्त्यमा, मेरो यस तीन वर्षे कार्यकाल परिणाममुखी बनाउन यहाँहरूको तर्फबाट पाएको साथ, सहयोग र समर्थनका लागि यहाँहरू सबै जना प्रति म हृदयदेखि कृतज्ञ छु ।

यी साथ र सहयोगका क्षणहरू मैले सधैँ सम्झिरहनेछु ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सधैँ पत्रकार मित्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहनेछ ।

हाम्रा साझा प्रयासहरूले नेपाललाई समृद्ध बनाउनेछ भन्ने कुरामा मेरो दृढ विश्वास छ । 

धन्यवाद ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x