आरविवि मर्चेन्ट बैङ्किङ लिमिटेडद्वारा सञ्चालित सामूहिक लगानी कोष आरविवि फोकस ४० मा इकाई खरिदको समय सीमा थपिएको छ। यसअघि भदौ १८ गतेदेखि खुला भएको आवेदन अब असोज १ गतेसम्म दिन सकिने भएको छ।
यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अङ्कित मूल्यमा १० करोड इकाई बिक्रीमा ल्याइएको छ, जसबाट कुल एक अर्ब रुपैयाँ बराबरको कोष सङ्कलन गर्ने लक्ष्य राखिएको छ।
योजनामा प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैङ्कका लागि कम्तीमा १ करोड ४० लाख इकाई (१४ प्रतिशत) र व्यवस्थापक आरविवि मर्चेन्ट बैङ्किङका लागि १० लाख इकाई (१ प्रतिशत) छुट्टाइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। १२ वर्ष अवधिको यो कोषमा आवेदन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको सि–आस्बा सेवामा सहभागी सबै बैङ्क तथा वित्तीय संस्थाका शाखाबाट दिन सकिन्छ। साथै, सिडिएस एण्ड क्लियरिङको मेरो शेयर प्रणालीमार्फत पनि घरमै बसेर आवेदन दिन सकिने व्यवस्था छ।