ग्लोबल आइएमई बैङ्क लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गर्नुभएको छ ।
सो सम्झौताअनुसार, विश्व बैङ्क समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैङ्कको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटि मूल्याङ्कन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरू पहिचान गर्ने र बैङ्कको डिजिटल बैङ्किङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।
साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैङ्कलाई सल्लाह प्रदान गर्नेछ ।
सो समझदारीपश्चात् बैङ्कमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूलाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवाहरू विकास गर्न सहज हुने विश्वास बैङ्कले लिएको जनाएको छ ।
ग्लोबल आइएमई बैङ्कले आफ्नो ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैङ्किङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै यस सम्झौताले बैङ्कको डिजिटल बैङ्किङको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताउनुभयो ।
उहाँले डिजिटल बैङ्किङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरिबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैङ्किङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।
विश्व बैङ्क समूहको सदस्य संस्था आईएफसीले विकासशील देशहरूमा निजी क्षेत्रको प्रवर्द्धन र विकास, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्छ ।
ग्लोबल आइएमई बैङ्क र आईएफसी बिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
