नबिल बैङ्क ४१औँ वर्षमा प्रवेश, दिगो बैङ्किङमा अग्रसरता

नबिल बैङ्कले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । '40 & Further for Sustainable Future’ नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैङ्किङको भूमिका भन्ने विषयमा छलफल गरेको थियो ।

काठमाडौँमा आयोजित कार्यक्रममा बैङ्कका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो ।

अध्यक्ष पौड्यालले पछिल्लो समय बैङ्क दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिनुभयो । बैङ्कले सुरु गरेको दिगो बैङ्किङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उहाँले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र सहयोगका लागि धन्यवाद दिनुभयो ।

बैङ्कले ४० वर्ष पुगेको अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत उहाँले जानकारी दिनसभयो । त्यसका लागि आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनीलगायतका कार्यक्रम तय भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तका लागि ठुलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैङ्कले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

“दिगो विकासका लक्ष्य पूरा गर्नका लागि विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारीअघि वार्षिक २.५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो”, उहाँले भन्नुभयो, “नेपालका हकमा २३ अर्ब डलर आवश्यक भएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग छ । जुन कुल जिडिपीको ११ प्रतिशत हो ।”

उहाँले नेपालले दिगो विकासका लक्ष्य पूरा गर्नका लागि ठुलो लगानी आवश्यक भएको र नबिल बैङ्कले दिगो विकासका क्षेत्रमा ठुलो लगानी बढाउन सक्ने समेत धारणा व्यक्त गर्नुभयो । उहाँले बैङ्कको काम आर्थिक कारोबार मात्रै नभएको बरु पर्यावरण जोगाउने जिम्मेवारी समेत भएकाले त्यसतर्फ आफ्ना कार्यक्रम र सेवा प्रवाहलाई केन्द्रित गर्न सुझाव दिनुभयो ।

त्यस अवसरमा मुख्य वक्ता सामाजिक उद्यमी अनिल चित्रकारले पर्यावरण जोगाउन आवश्यक भएकोमा जोड दिनुभयो । नबिल जस्ता बैङ्कले दिगो विकासका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो । पर्यावरणमा हामी निर्भर छौँ, पर्यावरण नजोगाउने हो भने भविष्यमा समस्या उत्पन्न हुने उहाँको तर्क थियो ।

“चितवन राष्ट्रिय निकुञ्जमा बाघ भएकै कारणले काठमाडौँलगायतका सहरका ट्राभल एजेन्सीहरू सञ्चालनमा छन्, पर्यावरण जोगाएकै कारणले रोजगारी सिर्जना भएको छ”, उहाँले भन्नुभयो । उहाँले शिवपुरी राष्ट्रिय निकुञ्ज संरक्षण गरेकै कारण आज काठमाडौँ बासीले दैनिक तीन करोड लिटर स्वच्छ खानेपानी प्राप्त गरेको तथ्याङ्क पेस गर्दै यसलाई मूल्यमा हेर्दा दिनहुँ ६० करोड रुपैयाँको भएको बताउनुभयो ।

सन् १९८४ मा जुलाई १२ मा नेपाल अरब बैङ्कका नाममा स्थापना नबिल बैङ्क  ग्राहकको सुविधा तथा सरल बैङ्किङ सेवालाई केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको छ । बैङ्कले आफूलाई नेपालको बैङ्किङ क्षेत्रमा अग्रणी बैङ्कका रूपमा स्थापित गरेको छ । स्थापनाकालदेखि नै प्रविधिको प्रयोगमा जोड दिएको बैङ्कले पछिल्लो समय डिजी बैङ्कमार्फत ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको जनाएको छ ।

‘नबिल बैङ्क सँगै अघि’ नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमाले गर्दै अघि बढिरहेको बैङ्कले पछिल्लो समय दिगो बैङ्किङमा जोड दिएको छ । सरलीकृत बैङ्किङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैङ्कले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैङ्किङ सुरुआत गरेको थियो ।

नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम, सन् २०१२ मा पहिलो पटक मोबाइल बैङ्किङ, सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप सेवा सुरुआत गरेको थियो । सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो । बैङ्कले पछिल्लो पटक सन् २०२२ मा ‘एन बैङ्क’ सुरुआत गरी नेपालमा पहिलो पटक मोबाइलबाटै ६० भन्दा बढी बैङ्किङ सेवा प्रवाह गरेको थियो ।

बैङ्कले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैङ्कले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x