जुम्लाको स्याउ झापामा

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसी बोका बिक्री गरेको छ ।

संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रा पालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसी बोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । किसानबाट किनिएका खसी बोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसी बोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट सङ्कलित खसी बोका काठमाडौँसम्म लगेर बिक्री गरिएको थियो ।

संस्थाको कृषि क्षेत्रका प्रमुख डा कमलेश्वर भाटले यसपालिको दसैँमा औसत ३० केजीका चार सय वटा खसी बोका बिक्री भएको जानकारी दिनुभयो । ती खसी बोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसी बोका बिक्री गरिएका थिए । खसी बोका जिउँदै तौलिएर प्रतिकेजी रु पाँच सय ८० मा बिक्री गरिएको उहाँले जानकारी दिनुभयो ।

“हामी कृषकलाई व्यावसायिक बाख्रा पालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरिदिन्छौँ”, उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेका खसी बोका बजारीकरणमा पनि प्रत्यक्ष रूपमा सघाउँछौँ । उनीहरूका खसी बोका किनेर बिक्री गरिदिन्छौँ ।”

संस्थाले छ जिल्लामा चार सयको सङ्ख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसी बोका अरू बेला किन्ने व्यवस्था मिलाइदिएको उहाँले बताउनुभयो । बाख्रा पालक किसान र फ्रेस हाउसबिच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको  समस्या नभएको उहाँको भनाइ छ ।

संस्थाले यसपालि दशैंअघि जुम्लाबाट स्याउ किनेर आफ्ना सदस्यलाई बिक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउलगायत विभिन्न उत्पादनको बजारीकरण र बीउ बिरुवा उत्पादनमा संस्थाले सहयोग पुर्‍याउने नीति लिएको संस्थाका निर्देशक खतिवडाले बताउनुभयो ।

बाख्रा पालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्‍याउन संस्थाले पशु चिकित्सकसहित १०  कर्मचारी परिचालन गर्दै आएको छ । एक लाख ५७ हजार नौ सय २० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार एक सय ३०  ऋणी छन् । संस्थाबाट कृषि कर्जा लिनेको सङ्ख्यासमेत उल्लेख्य छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x