
चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाका हुँदै विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा ४ सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात हुँदा करिब रु १ अर्ब ४८ करोड ६४ लाख बराबरको कारोबार भएको छ। यस आयातबाट मात्र रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा विद्युतीय सवारी आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। अघिल्लो वर्ष १ सय ६५ वटा विद्युतीय सवारी आयात हुँदा रु ४३ करोड १ लाख बराबरको कारोबार भएको थियो भने त्यसबाट रु ३५ करोड ५० लाख राजस्व सङ्कलन भएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार विद्युतीय मोटरसाइकलतर्फ पनि आयात बढ्दो क्रममा रहेको छ। चालु आवको सात महिनामा १ हजार १ सय २८ वटा मोटरसाइकल आयात भई रु ८० करोड ५७ लाख बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा भने ३ हजार ३७४ वटा मोटरसाइकल आयात भए पनि कुल मूल्य रु ४४ करोड ३ लाख मात्रै थियो।
यता पेट्रोलियम सवारीसाधनको आयात भने सङ्ख्यामा घट्दो देखिएको छ। चालु आ.व. मा ६ सय ९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात हुँदा रु १ अर्ब १६ करोड १३ लाख बराबरको कारोबार भएको छ, जसबाट रु २ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ। गत वर्ष यही अवधिमा ७ सय ४८ वटा यस्ता सवारी आयात हुँदा रु ३ अर्ब ७३ करोड राजस्व उठेको थियो।
समग्रमा हेर्दा, चालु आवको सात महिनामा वीरगन्ज नाका हुँदै रु २३ अर्ब ५७ करोड बराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। यो गत वर्षको सोही अवधिको रु १७ अर्ब १५ करोडको तुलनामा उल्लेख्य वृद्धि हो, जसले सवारी बजारमा विस्तारसँगै राजस्वमा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ।
वीरगन्ज नाकामा विद्युतीय सवारी आयातमा उछाल, राजस्वमा पनि उल्लेख्य वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
