
आगामी आर्थिक वर्ष (आ.व) २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आज विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो ।
आगामी (आ.व) का लागि स्रोतको अनुमान र बजेटको सीमा (सिलिङ) तोक्नुअघि मन्त्रालयसँग छलफल गरिएको योजना आयोगका प्रवक्ता यमलाल भुसालले राससलाई जानकारी दिनुभयो । “आगामी (आ.व) को बजेट सिलिङ तोक्नुअघि विभिन्न विषयगत मन्त्रालयसँग छलफल थालिएको छ । कुन मन्त्रालयले के कस्ता योजना र कार्यक्रम कार्यान्वयनका लागि के कति बजेट आवश्यक छ भन्नेलगायतका विषयमा छलफल भएको हो”, उहाँले भन्नुभयो, “बजेटलाई यथार्थपरक र कार्यान्वयन योग्य बनाउनका लागि स्रोत अनुमान गर्ने र सिलिङ तोक्ने समयमा उनीहरूको सहभागिता खोजिएको हो ।”
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा स्रोत अनुमान समिति रहन्छ । विगतका वर्षमा उक्त समितिले विषयगत मन्त्रालयको सहभागिता र छलफलबिना नै बजेटको सीमा तोकेर सोही सीमाभित्र वार्षिक योजना तथा कार्यक्रमको प्रस्ताव माग गर्ने गरेको थियो । जसले गर्दा मन्त्रालयले बजेट अपुग भएको, छुट्ट्याउनुपर्ने योजना तथा कार्यक्रममा बजेट नपरेको, कम प्राथमिकताका आयोजना तथा कार्यक्रममा बढी बजेट परेकोलगायत गुनासा आउने गरेका थिए । यस्तो समस्यालाई सम्बोधन गर्न यस पटक समितिले सिलिङ तोक्नुअघि पनि मन्त्रालयसँग छलफल गरेको हो ।
यस पटक मन्त्रालयले के चाहन्छन् ?, कुन योजना तथा कार्यक्रम र प्राथमिकतामा राखेर बजेट छुट्टाउने ?, उनीहरूको बजेट माग कति हो ? भन्नेजस्ता विषयलाई पहिले नै छलफल गरेर सोही आधारमा बजेट सिलिङ निर्धारण गरिने प्रवक्ता भुसालले बताउनुभयो । उहाँका अनुसार चालु (आ.व) को पुस महिनासम्मको खर्चको अवस्थालाई विश्लेषण गरी आगामी (आ.व) को बजेटको स्रोत अनुमान र खर्चको सीमा निर्धारण गरिनेछ ।
आयोगले आज श्रम, सहरी विकास, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा जलस्रोत र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ । त्यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायत निकायसँग पछि छलफल भएको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
बिहीबार र शुक्रवार अरू मन्त्रालय र निकायसँग छलफल गर्ने कार्य तालिका बनाइएको आयोगले जनाएको छ । आयोगले हरेक मन्त्रालय र निकायसँग छुट्टा छट्टै छलफल गर्ने जनाएको छ ।
‘बजेट क्यालेन्डर’ संशोधन
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ ४ गते आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गर्नुभएको थियो । सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिना अगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन भएको थियो ।
स्रोत निर्धारण समितिले बजेटको सीमा (सिलिङ) तोकिसक्नुपर्ने समयलाई पनि अध्यादेशमार्फत संशोधन गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ११ (१) मा प्रत्येक आर्थिक वर्षका लागि विनियोजन विधेयक पेस गर्नुभन्दा कम्तीमा १५ दिन अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण सङ्घीय संसद्मा प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था रहेको थियो । यो व्यवस्थालाई अध्यादेशबाट संशोधन गरी ‘विनियोजन विधेयक ल्याइनुभन्दा तीन महिना अगावै बजेटका सिद्धान्त र प्राथमिकतामा संसद्मा पेस गरिनुपर्ने’ व्यवस्था ल्याइएको छ ।
सङ्घीय सरकारले विनियोजन विधेयक जेठ १५ गते संसद्मा पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेअनुसार सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता फागुन १५ भित्रमा संसद्मा पेस गरिसक्नुपर्नेछ । त्यस्तै, बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि संसद्मा छलफल भएर एक महिनाभित्र सरकारलाई सुझाव जानेछ ।
अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ मा संशोधन गरिएको छ । ऐनको उक्त दफामा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्ने (सिलिङ) सम्बन्धी व्यवस्था रहेको छ । दफा ७ (१) मा योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यम कालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्व अनुमान चालु आर्थिक वर्षको माघ १५ गतेभित्र गरिसक्नुपर्नेछ भनी व्यवस्था रहेको थियो । अध्यादेशमार्फत उक्त व्यवस्थालाई संशोधन गरी माघ मसान्तसम्म गरिसक्नुपर्ने बनाइएको छ । अर्थात्, स्रोत अनुमान समितिले माघ मसान्तभित्रमा बजेट सिलिङ तयार पारेर फागुन ७ गतेभित्र सबै मन्त्रालयलाई उपलब्ध गराइसक्नेछ ।
ऐनको दफा ८ (१) मा संशोधन भएको छ । उक्त दफामा योजना आयोगले स्रोत अनुमान समितिबाट निर्धारित स्रोत तथा खर्चको सीमाको अधीनमा रही आगामी तीन वर्षको बजेट तर्जुमाका लागि बजेट सीमा, मध्यम कालीन खर्च संरचनाको खाकासमेत उल्लेख गरी बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तथा ढाँचा चालु आर्थिक वर्षको माघ मसान्तभित्र सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय वा निकायमा पठाइसक्नुपर्नेछ भनी व्यवस्था गरिएको थियो । अध्यादेशमार्फत यो व्यवस्थामा संशोधन गरी स्रोत समितिले बजेट सिलिङ र मध्यम कालीन खर्च संरचनासम्बन्धी विवरण फागुन ७ गतेभित्र सम्बन्धित मन्त्रालयमा पठाइसक्नुपर्नेछ ।
प्रदेश र स्थानीय तहसँग योजना माग
राष्ट्रिय योजना आयोगले गत पुस पहिलो साता प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी (आ.व) का लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरिसकेको छ । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव यही माघ मसान्तभित्र पेस गरिसक्न भनिएको छ ।
 
आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग छलफल सुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            