चालु आर्थिक वर्षको अन्तिम साता सुरु हुन लाग्दा सरकारले बजेट खर्चको गति उल्लेखनीय रूपमा बढाएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधवार मात्रै १७ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ।
कानुनी व्यवस्था अनुसार सरकारी निकायले आजभित्र भुक्तानीका लागि चेक जारी गरिसक्नुपर्ने भएकाले अन्तिम समयमा भुक्तानीको चाप बढेको हो। यसकै प्रभाव स्वरूप स्थानीय तहले प्रयोग गर्ने ‘सूत्र’ प्रणालीमा देशभर समस्या देखिएको छ। आर्थिक वर्षको अन्तिम दिनहरूमा यस्तो समस्या दोहोरिने गरेको छ।
कार्यालयको तथ्याङ्क अनुसार बुधवारसम्म सरकारको कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् मङ्गलवार सम्म यो खर्च १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।
यद्यपि विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च भने अझै कमजोर देखिएको छ। सरकारले ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा बुधवारसम्म १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको करिब ४० प्रतिशत हो।
यस्तै, राजस्व सङ्कलन पनि लक्ष्यअनुसार हुन सकेको छैन। चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा बुधवारसम्म ११ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै सङ्कलन भएको छ, जुन वार्षिक लक्ष्यको ७८.१५ प्रतिशत बराबर हो।
आर्थिक वर्षको अन्तिम साता सरकारको भुक्तानी तीव्र, एकै दिन १७ अर्बभन्दा बढी निकासा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
