
पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँ बढी हो, जसअनुसार कार्यालयको राजस्व सङ्कलन करिब ११ प्रतिशतले वृद्धि भएको छ।
राजस्व असुलीमा उल्लेखनीय सुधार भए पनि कार्यालयले वार्षिक लक्ष्य भने हासिल गर्न सकेन। गत आर्थिक वर्षका लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले करिब ९३ प्रतिशत मात्र लक्ष्य पूरा गरेको जनाएको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यसको तुलनामा पछिल्लो आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको देखिएको छ।
मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाकामध्ये एक हो। यस नाकामार्फत चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन्। त्यस्तै पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुँदै आएको छ।
