चालु आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्ब १७ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी भुक्तानीका लागि प्रयोग हुने ‘सूत्र’ प्रणाली बन्द हुनुअघि असार २५ गते मात्रै ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च भएको हो।
कार्यालयको तथ्याङ्क अनुसार उक्त रकममध्ये चालु खर्चतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च गरिएको छ।
आर्थिक वर्षको अन्तिम दिनमा भुक्तानीको चाप उच्च हुने भएकाले सरकारी निकायले ठुलो परिमाणमा बजेट निकासा गर्ने क्रम यस वर्ष पनि दोहोरिएको देखिएको छ।
