ग्लोबल आइएमई बैङ्कमा नागरिक एपबाटै बैङ्क खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैङ्क लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैङ्क खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ ।

नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैङ्कको वेबसाइटमा रहेको क्युआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरूले ग्लोबल आइएमई बैङ्कमा खाता खोल्नको लागि आवश्यक पर्ने क्युआर कोड उल्लेखित लिङ्कमा क्लिक गरी पाउनेछन् । लिङ्क: https://nagarik.gibl.com.np

नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैङ्क खाता खोल्न थप सहज बनाएको छ ।

यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकहरूले अनलाइनबाटै ग्लोबल आइएमई बैङ्कमा खाता खोल्न सक्नेछन् । 

यसका लागि बैङ्कले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ ।

यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ ।

नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनको लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी मार्फत प्रमाणीकरण गर्नुपर्नेछ ।

यस सेवाको सुरुवातसँगै ग्लोबल आइएमई बैङ्कले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैङ्किङ सेवाको विस्तार गरेको  छ ।

नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैङ्किङ अनुभव प्रदान गर्ने विश्वास बैङ्कले लिएको छ ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘वेस्ट इन्टरनेट बैङ्क २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘वेस्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैङ्कले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४ र वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । हाल बैङ्कले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैङ्किङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिटेन्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x