नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अघि सारेका आर्थिक सङ्कटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकताहरूमा सहकार्यका लागि विकास साझेदारसँग आग्रह गर्नु भएको छ ।
आज महासङ्घमा नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिंगरबीच भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरू बिच सहकार्य बढाउन आग्रह गर्नु भएको हो ।
भेटवार्तामा दुई संस्थाबिच दिगो विकासका लक्ष्य कार्यान्वयन र अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्तीबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्ने बारे पनि छलफल भयो ।
संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजकलाई महासङ्घ सचिवालयमा स्वागत गर्नुहुँदै अध्यक्ष ढकालले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना महासङ्घको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासङ्घ महत्त्वपूर्ण साझेदार हुनसक्ने बताउनुभयो ।
सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्त्वका साथ लिएको बताउनु भयो ।
आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताउनुभयो । लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासङ्घको भूमिका प्रभावकारी हुने उहाँको धारणा थियो ।
स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्न सक्ने उहाँले बताउनुभयो ।
औपचारिक भेटवार्तामा संयुक्त राष्ट्र सङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका अधिकारीहरूको उपस्थिति थियो ।
महासङ्घका अध्यक्ष ढकाल र संयुक्त राष्ट्र सङ्घ आवासीय संयोजक हाना सिंगर बिच भेटवार्ता, दिगो विकास लक्ष्य कार्यान्वयन र स्तरोन्नतिमा सहकार्य प्रस्ताव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
