एभरेष्ट बैंक लिमिटेडले यही मङ्सिर २६ गते (आज) २८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभा लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को मुनाफा समेतबाट ७.६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर गरी जम्मा २०.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन र त्यसै गरी आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
सभाले बैंककाे अधिकृत पुँजी रु. १००० करोडबाट वृद्धि गरी रु. १५०० करोड पुर्याउने भएकोले सोही बमोजिम संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर १३ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।