देशभित्र खपत र निर्यात बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने जनाएको छ ।

विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने भएको छ । साथै, भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिने उसको भनाइ छ ।


प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रूपमा चलाइरहेको जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत् खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको थियो ।

टोलीले भारतको पश्चिम बङ्गाल राज्यबिच अन्तर देशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बङ्गलादेशतर्फ विद्युत् निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सब स्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको छ । टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक कोरिडोर स्थापनाको सम्भावना भएका ठाउँहरूलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको जानकारी दिए ।

‘दीर्घकालीन रूपमा भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किशनगञ्ज विन्दुहरू नजिक पर्ने देखिएको छ, त्यसैले ४०० केभी को इनरुवा सब स्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनार मनी क्षेत्रमा ४०० केभी सब स्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नु पर्ने देखिएको छ’, उनले भने, ‘यो लाइन अत्यावश्यक छ, यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्ने छ भने भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने छ ।’

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बङ्गलाको सिलिगुढीस्थित ४००÷२२० केभी विनागुढी सब स्टेसनको भ्रमण गरी विद्युत् आयात निर्यातको जानकारी लिएको थियो । सब स्टेसनमा भुटानको ताला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ । 

प्राधिकरणको खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र  निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गर्ने र आन्तरिक रूपमा खपत गरी बढी भएको विद्युत् निर्यातका लागि ठुला क्षमताका लाइन तथा सब स्टेसन निर्माण गरिने छ ।

प्राधिकरणको उच्चस्तरीय टोलीले झापाको ग्वालडुब्बा, मोरङको केरौन, सुनसरीको इनरुवा तथा कुशहामा निर्माणाधीन सब स्टेसनहरूको निर्माण प्रगतिका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेको थियो । टोलीले सब स्टेसनहरू भरपर्दो र विश्वसनीय विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण भएकाले जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x