विपन्नलाई सहुलियतमा उपचार

ज्ञानमाण्डू।पश्चिम नवलपरासी स्थित पृथ्वीचन्द्र अस्पताल परासीले विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा सुरु गरेको छ । अस्पतालले छुट्टै सामाजिक सेवा एकाइ स्थापना गरी विपन्न नागरिकलाई सहुलियतमा उपचार सेवा प्रदान गर्न सुरु गरेको हो ।

एकाइबाट विपन्न, अशक्तलगायत १२ प्रकारका लक्षित वर्गले निःशुल्क वा आर्थिक अवस्थाअनुसार छुटमा उपचार सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिए । 

आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको हकलाई सुनिश्चित गर्न यो सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष चौधरीले, सेवा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा दिन निरन्तर लागिरहेको र यो एकाइबाट कसैले सहुलियतमा उपचार सेवा पाउन नसके तत्काल समितिमा जानकारी गराउन आह्वान गरे । 

प्रदेश सरकारको सहयोगमा सुरु गरिएको यो सेवाका लागि सामाजिक सेवा एकाइमा दुई सहजकर्ताको व्यवस्था गरिएको छ । सहजकर्ताले बिरामीको अवस्था हेरी निःशुल्क वा सहुलियतमा उपचार गर्न सिफारिस गर्ने अस्पतालका प्रमुख डा मोहम्मद नुरुल होदाले बताए । इन्द्रेणी सामाजिक विकास मञ्चको साझेदारीमा सुरु गरिएको यो एकाइबाट गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित तथा महिला स्वास्थ्य स्वयंसेविकाले सहुलियतमा उपचार सेवा पाउन थालेका हुन्।

यसै गरी प्राकृतिक प्रकोपबाट पीडित, शहीद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई अस्पतालले सहुलियतमा उपचार सेवा प्रदान गर्ने डा होदाले जानकारी दिए । उनका अनुसार,  १२ किसिमका लक्षित समूहका व्यक्तिलाई उनीहरूको आर्थिक अवस्था हेरी निःशुल्क वा केही प्रतिशत छुटमा उपचार गर्ने र  लैङ्गिक हिंसा पीडितका लागि केही वर्षदेखि नै अस्पतालमा आधारित एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)मार्फत निःशुल्क उपचार गर्दै आएको , त्यस्तै, सामाजिक सेवा एकाइबाट लक्षित समूहका बिरामी र अस्पताललाई समेत सहज हुने जनाए। 

साझेदार संस्था इन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्री सुवेदीले यो एकाइमार्फत प्रभावकारी सेवा दिन आफूहरू लागिरहेको बताउँदै सेवामा कमी हुन नदिने प्रतिबद्धता जनाए । उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले सेवाको प्रभावकारी प्रचारप्रसार र कार्यान्वयनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए । 

जिल्लाकै पुरानो जिल्ला अस्पतालको रूपमा रहेको पृथ्वीचन्द्र अस्पतालमा नौ जनाको विशेषज्ञ दरबन्दी रहे पनि हाल छ विशेषज्ञसहित ५० शय्यामा सञ्चालित रहेको अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिए । सामाजिक सेवा एकाइमार्फत उपचार सेवा प्रदान गर्न यस वर्ष आठ महिनाका लागि बजेट प्राप्त भएको उनले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x