खेल क्षेत्रमा सम्झना लायक वर्ष – २०१९

ज्ञानमाण्डू।बिदा हुँदै गरेको वर्ष २०१९ लाई फर्केर हेर्दा खेलकुद क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । 

नेपालले आयोजनाको मौका पाएको दक्षिण एसियाली क्षेत्रको ओलम्पिकको रूपमा मानिएको १३ औँ दक्षिण एसियाली खेलकुद भव्यरुपमा सम्पन्न मात्र गरेन पदकका हिसाबमा पनि ठुलो सफलता हात पार्‍यो । 

सन् २०१६ को फेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औँ सागको समापन समारोहमा १३ औँ साग आयोजनाका लागि नेपाललाई झन्डा हस्तान्तरण गरिएको थियो । यस वर्ष नेपालले प्रतियोगिता आयोजना गर्न सफल भयो । 

नेपालले सन् २०१८ मै उक्त प्रतियोगिता आयोजना गर्नुपर्ने थियो तर, उक्त समयमा प्रतियोगिता भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण आयोजना हुन सकेन । त्यसपछि काठमाडौँमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सन् २०१९ को मार्च ९ देखि १८ तारिखमा प्रतियोगिता आयोजना गर्ने गरी अर्को मिति घोषणा गरेको थियो । 

दोस्रो पटक तोकिएको समयमा पनि प्रतियोगिता आयोजना हुन नसक्ने भएपछि डिसेम्बरको नयाँ मिति घोषणा गरिएको थियो । जसमा प्रतियोगिता आयोजना गर्न नेपाल सफल भयो । उक्त प्रतियोगिता नेपालले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एसियाली खेलकुद (साग)को बिदाइ गर्‍यो । सागको ३५ वर्षे इतिहासमा नेपालले यस पटक कीर्तिमानी प्रदर्शन गरेको थियो । 

नेपालबाटै सुरुआत भएको सागमा यस पटक नेपालले हालसम्मकै सर्वाधिक पदक जितेको थियो । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । तेह्रौँ सागमा नेपाल पदक तालिकामा भने दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कांस्यसहित कूल २०५ पदक जित्यो । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको थियो । नेपाल सुटिङमा भने पदकविहीन रह्यो । 

गौरिका सिंह सर्वाधिक सफल खेलाडी बन्न सफल:
तेह्रौँ सागमा पौडीबाज गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार वटा स्वर्णपदक जित्दै नयाँ कीर्तिमान कायम गरिन । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण जित्ने कीर्तिमान बनाए । 

महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । १३ औँ सागमा भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । 

श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कांस्यसहित कूल २५१ पदक जित्दै तेस्रो भयो । पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कांस्यसहित कूल १३८ पदक जितेर पाँचौँ, मालदिभ्स एक स्वर्ण र चार कांस्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भुटान सात रजत र १३ कांस्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो । 

क्यान निलम्बन फुकुवा:
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले भण्डै साढे तीन वर्षपछि नेपाल क्रिकेट सङ्घ (क्यान) माथिको निलम्बन फुकुवा यसै वर्ष गर्‍यो । विसं २०७३ वैशाखदेखि निलम्बित क्यानलाई आइसिसी बोर्ड बैठकले यसै वर्ष असोज २७ गते निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । 

विसं २०७२ मा क्यानको निर्वाचनसँगै दुई समानान्तर कमिटी गठन भएपछि आइसिसीले सरकारी हस्तक्षेप बढेको भन्दै निलम्बन गरेको थियो । २०७२ मङ्सिर २८ गते तोकिएको निर्वाचन रोक्न तत्कालीन अध्यक्ष टङ्क आङबुहाङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुगेका थिए तर, निर्वाचन तोकिएको समयमा भयो । 

उनकै कार्यसमितिमा उपाध्यक्ष रहनुभएका चतुर बहादुर चन्द नयाँ अध्यक्ष र महासचिव अशोकनाथ प्याकुरेल पुनः महासचिव चयन भएका थिए तर त्यसलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएन । राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्टले चन्द र प्याकुरेल नेतृत्वको समितिको समानान्तरमा अर्को समिति गठन गरे । जसमा राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवालको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो । 

सोही विवादपछि आइसिसीले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसकेको तथा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो । आइसिसीकै रोडम्यापअनुसार क्यानको निर्वाचन पनि यसै वर्ष सम्पन्न भयो । जसमा चतुर बहादुर चन्द पुन क्यानको अध्यक्षमा निर्वाचित भए । 

त्यसै गरी यसै वर्ष अक्टोबरमा नेपाली राष्ट्रिय क्रिकेटले नयाँ कप्तानको रूपमा ज्ञानेन्द्र मल्ललाई पायो भने पारस खड्काले कप्तानबाट राजीनामा दिए । 

प्रथम श्रेणीको क्रिकेटमा नेपालको पुनरागमन:
विश्व क्रिकेटको ऐतिहासिक पहिचान बोकेको इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध नेपालले १४ वर्षपछि तीन दिवसीय प्रथम श्रेणीको क्रिकेट खेल्यो । खेलको नतिजा भने मेरिलेबोनलाई सुम्पियो । कीर्तिपुर स्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल एमसिसीसँग २०८ रनले पराजित भएको थियो । 

त्यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग सन् २००५ को मेमा अन्तर महादेशीय कपमा खेलेको थियो, जुन नेपालले खेलेको पछिल्लो प्रथम श्रेणीको खेल थियो । उक्त खेलमा नेपालले युएईलाई पराजित गरेको थियो । 

यसै वर्ष आठौँ राष्ट्रिय खेलकुद सम्पन्न:
पटक पटक सरेको आठौँ राष्ट्रिय खेलकुदले पनि यसै वर्ष पूर्णता पायो । अघिल्लो वर्षकै लागि तय भएको उक्त खेलकुदको मिति पटक पटक सर्दै आएको थियो । अन्ततः नेपालगन्जमा वैशाख ५ देखि ११ गते सम्पन्न भयो । प्रतियोगितामा कुल ३५ खेलमा प्रतिस्पर्धा भएको थियो । जसमा १४० स्वर्ण, ८२ रजत तथा ६७ कांस्यसहित नेपाल आर्मी पहिलो भएको थियो । 

त्यस्तै नेपाल प्रहरी दोस्रो तथा सशस्त्र प्रहरी बल (एपिएफ) तेस्रो भयो । प्रहरीले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्यसहित दोस्रो बनेको थियो भने ५४ स्वर्ण, ६९ रजत तथा ८० कांस्य पदकसहित एपिएफ तेस्रो भएको थियो । 

महिला भलिबलमा ऐतिहासिक सफलता:
बङ्गलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले ऐतिहासिक नतिजा ल्यायो । फाइनल खेलमा नेपालले मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि हात पार्‍यो । 

यसअघि नेपालले कहिले पनि अन्तर्राष्ट्रियकरण प्रतियोगितामा उपाधि जित्न सकेको थिएन । त्यसअघि सन् २०१४ मा काठमाडौँमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपालले रजत जितेको थियो । 

नेपाली महिला भलिबल टोलीले सन् १९९९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएको थियो । १३ औँ सागमा पनि नेपालले रजत पदक जित्दै सागमा ऐतिहासिक सफलता हासिल गर्‍यो । महिला भलिबलले अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको २० वर्षपछि उपाधि जित्दा पनि पुरुष भलिबल टोली भने अहिलेसम्म उपाधिविहीन छ । 

फुटबल:
नेपाली फुटबल टोलीले सागमा स्वर्ण पदक जित्दा राष्ट्रिय टोलीका केही महत्त्वपूर्ण सदस्य भने मैदान बाहिर बस्न बाध्य बने । आफ्नो व्यक्तिगत चरित्रका कारण उनीहरू खेलमा सहभागी हुन पाएनन् । कतारमा सन् २००२ मा आयोजना हुने विश्वकप फुटबल छनोटअन्तर्गत भुटानमा हुने कुवेत विरुद्धको होम खेलअघि राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडी ठमेलको नाइट क्लबमा गएर मदिरा सेवन गरेको पाइएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तत्काल राष्ट्रिय टोलीबाट हटाएको खबरले निकै चर्चा पाएको थियो । 

कात्तिकमा ठमेलका विभिन्न क्लबमा भेटिएका विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनहीन काम गरेको भन्दै नेपाली राष्ट्रिय टोलीबाट हटाएको थियो । चारै जना खेलाडी कुवेत विरुद्धको खेलका लागि भुटान उड्ने अघिल्लो दिन ठमेलका विभिन्न क्लबमा गएका थिए । जसका कारण भूटानविरुद्धको खेल त गुमाए गुमाए सँगसँगै घरेलु मैदानमा २० वर्षपछि आयोजना भएको १३ औँ सागमा पनि सहभागिता जनाउन पाएनन् । 

ओलम्पिक कमिटीमा पुनः जीवनराम श्रेष्ठ: 
सेप्टेम्बर महिनामा नेपाल ओलम्पिक कमिटीको चुनावबाट पुन जीवनराम श्रेष्ठले निरन्तरता पुन सफल भए । प्रतिनिधिसभा सांसदसमेत रहेका उनले १७ मत ल्याउँदै दोस्रो पटक निर्वाचित हुन सफल भएका थिए । उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले कुल १० मत ल्याएका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x