ज्ञानमाण्डू।जिल्ला सदरमुकाम लिवाङमा रहेको हिंसापीडित महिला तथा बालबालिका अल्पकालीन आश्रयस्थल अर्थाभावले बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७३ मा स्थापना भएको सो आश्रयस्थल सञ्चालन गर्न अर्थाभाव भएपछि बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । न्यायका लागि सदरमुकाम आउने हिंसापीडित महिला र बालबालिकाको लागि आश्रयस्थल अति प्रभावकारी बन्दै आएको थियो ।
साविकको महिला तथा बालबालिका कार्यालयको सहजीकरणमा सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको सो आश्रयस्थल पछिल्लो समय कसरी सञ्चालन गर्ने भन्ने अन्योल बढ्दै गएको छ । हालसम्म ३१२ ले आश्रय लिइसकेका छन् । तीमध्ये आठ पुरुषसमेत रहेको सहकारी संस्थाले जनाएको छ । बीसदेखि ४९ वर्ष उमेर समूहका हिंसापीडित भएर आश्रय लिएको देखिन्छ । सो उमेर समूहका २०२ जनाले सेवा लिएका छन् । यसै गरी १० देखि १९ वर्ष उमेर समूहका ५१ र ४९ देखि माथि उमेर समूहका ५९ जनाले यो सेवा लिएको संस्थाका सचिव भावना शर्माले जानकारी दिइन् ।
जातिगतरूपमा सबभन्दा धेरै दलित हिंसाबाट पीडित भएर आश्रय लिन आएको देखिन्छ । ब्राह्मण क्षेत्री ५९, जनजाति ८६ र दलित १६७ जनाले आश्रय लिएको उनले बताइन् । जिल्लामा जनजातिको बाहुल्य रहे पनि कम सङ्ख्यामा रहेका दलित नै हिंसामा पर्ने देखिएको संस्थाले जनाएको छ । हिंसाको मूल कारण अशिक्षा र गरिबी भएकाले यसको मारमा गैरदलितभन्दा दलित नै बढी देखिएको शर्माले बताइन् ।
आश्रय लिनेमध्ये ठुलो सङ्ख्याका हिंसापीडित घरेलु हिंसाका छन् । शारीरिक हिंसा १२, मानसिक हिंसा ६१, सामाजिक हिंसा १७ र बालबाविवाहका आठ जनाले आश्रय लिँदा घरेलु हिंसाका २१० जनाले आश्रय लिएको सो संस्थाको तथ्याङ्कमा उल्लेख छ । बलात्कृत आठ र इँटाभट्टा जाने आठ जनाले समेत आश्रय लिएका छन् ।
आश्रयस्थललाई बन्द हुन नदिन आफूले सक्दो समन्वय गरिरहेको जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढाले जानकारी दिए । प्रदेश सरकार तथा स्थानीय सरकारसँग यसको निरन्तरताका लागि आफूले बजेट विनियोजन गर्न समन्वय गरेको उनले बताए । आश्रयस्थल सञ्चालक समितिका अध्यक्ष तुलसी आचार्यले आश्रयस्थलको निरन्तरता जरुरी बताए ।रासस