देशको कुल सार्वजनिक ऋण दायित्व असोज मसान्तसम्ममा २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुवातमा यो रकम २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेकोमा तीन महिनामै ५० अर्ब ६० करोडले वृद्धि भएको हो।
हाल देशको कुल ऋण स्तर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ६१ प्रतिशत बराबर पुगेको छ। कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर असोज मसान्तसम्म कुल १ खर्ब ८४ अर्ब रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको १६.९३ प्रतिशत हो।
ऋण सङ्कलनमा आन्तरिक स्रोतको योगदान ८९.२४ प्रतिशत र वैदेशिक स्रोतको हिस्सा १०.७६ प्रतिशत रहेको छ। त्यस्तै, चालु आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि विनियोजित ४ खर्ब ११ अर्ब रुपैयाँमध्ये असोज मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल बजेटको २६.७४ प्रतिशत हो।
देशको सार्वजनिक ऋण २७ खर्ब २४ अर्बमा पुग्यो, तीन महिनामा ५० अर्बले वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
