कोरोनाको सन्त्रासले घर फर्कंदै नेपाली

ज्ञानमाण्डू।बर्दिया राजापुर नगरपालिकाका ध्रुवप्रसाद न्यौपाने २० दिन अघिमात्र भारतको गढुवालमा कमाउनका लागि गएका थिए । विश्वभर महामारीका रूपमा फैलँदै गएको कोरोना भाइरसको त्रासले न्यौपाने छिटै घर फर्कनु पर्‍यो । 

टीकापुर नरगपालिका–९ सत्ती भन्सार कार्यालय नजिकै रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’मा उनको ‘थर्मल गन’ बाट शारीरिक तापक्रम स्वास्थ्यकर्मीले जाँच गर्दै थिए । “बीस दिनअगाडि कामका लागि मलगायत आठ/दश जना साथी गडवाल पुग्यौँ । पुगेको केही दिनमै कोरोनाको त्रास भयावह हुँदै गयो”, न्यौपानेले भने, “काम गर्न सक्ने वातावरण रहेन । घरबाट लिएको पैसा पनि सकियो । कुनै विकल्प नभएपछि घर फर्कियौँ ।” 

न्यौपानेजस्ता सयौँ नेपाली सीमा नाकाबाट नेपाल प्रवेश गर्दै आएका छन् । भारतमा पनि कोरोनो भाइरसको सङ्क्रमणबाट सयौँ सङ्क्रमित हुँदा त्यहाँका नेपालीमा समेत ठुलो त्रास रहेको नेपाल फर्केका नेपालीले बताउने गरेका छन् । न्यौपानेसँगै आएका विकास अधिकारीले घरको जोहो भारतमा गई मजदुरी गरे मात्र चल्ने भन्दै त्यो बाटो बन्द भएको बताए । अधिकारीले यस्तै अवस्था रहे आफूहरूले भोकै मर्नुपर्ने अवस्था सिर्जना हुने भन्दै कोरोना भाइरसको सङ्क्रमण कम भए लगत्तै भारत जाने बताए । 

सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले पहिलेको तुलनामा चहलपहलमा कमी आए पनि मानिसको ओहोरदोहोर नरोकिएको बताए । कोरोनाको सन्त्रास बढेपछि नगरपालिकाले फागुन २४ गतेबाट खक्रौलामा रहेको सहायता कक्ष ‘हेल्थ डेस्क’ मार्फत भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गर्न थालेको छ । 

हालसम्म कसैलाई पनि त्यस्तो लक्षण नदेखिएको बताउँदै हेल्थ डेस्कमा कार्यरत अहेव मकेन्द्र रोकायाले लक्षण नदेखिए पनि ढुक्क हुने अवस्था भने नभएको बताए । “हालसम्म कसैमा पनि कोरोना भाइरसको लक्षण देखिएको छैन”, अहेव रोकायाले भने, “तर ढुक्क हुने अवस्था पनि छैन । कोरोना भाइरसको लक्षण १४ दिनसम्म पनि देखिने भएकाले अहिले नै सङ्क्रमित प्रवेश गरेको छैन भनेर पुष्टि गर्न सकिने अवस्था छैन ।” रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपालीमध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन् । यसरी घर फर्किनेमा कैलाली, बर्दिया, अछाम, सुर्खेत, डोटी, दैलेख, कालीकोटलगायत जिल्लाका बासिन्दा रहेका छन् । 

त्यस्तै बर्दियाको गेरुवा गाउँपालिकाका तीन जना भारतको हैदरावादबाट घर फर्किएका छन् । दुई वर्षपछि घर फर्किएका गोपाल चौधरीले भने, “घर परिवारसँग भेटघाट नभएको पनि धेरै समय भएको थियो । यस्तैमा कोरोनाको हल्ला फैलिएपछि चाँडै फर्किए ।” 

भारतमा केही नेपाली कामदारलाई कामबाट निकालिएको छ । तीमध्ये कतिपयलाई फेरि काममा फर्किन भनिएको छ भने कतिपयले रोजगारी नै गुमाएका छन् । भारतको मुम्बईमा एक होटेलमा कार्यरत अछामका विकास धामीलाई केही समयपछि काममा आउनु भनिएको छ तर कहिलेसम्म काममा फर्किने भन्ने कुरोको ठेगान छैन । ग्राहकको सङ्ख्या घटेसँगै उनीलगायत धेरै कामदारलाई होटेल व्यवस्थापनले केही समयका लागि बिदा दिएको छ । सो होटेलमा कुकमा कार्यरत धामी खाली समयको सदुपयोग गर्न घर फर्किएका छन् । “एकातिर बिदाको समय अर्कोतिर कोरोनाको हल्ला फैलिन थालेपछि घर फर्किएँ”, धामीले भने, “मजस्तै धेरैलाई बिदा गरिएको छ ।” 

यसरी घर फर्किनेमा भारतका महाराष्ट्र, मुम्बई, हैदरावाद, गुजरात, लखनउ, सुरतलगायत शहरबाट धेरै रहेको पाइएको छ । सीमा क्षेत्रमा घर फर्किने नेपालीको सङ्ख्या बढेसँगै चुनौतीसमेत थपिएको छ । उनीहरूलाई भरपर्दो ढङ्गले स्वास्थ्य जाँच गर्न सकिएको छैन । अहिले सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले थर्मल गन मार्फत ज्वरो नाप्ने र सामान्य सोधपुछ मात्रै गर्दै आएको छ । स्वास्थ्यकर्मीले उनीहरूलाई ज्वरो नाप्नाका साथै रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सोध्ने गरेको छ । 

थर्मल गनले ज्वरोको मात्रा देखाए पनि रुघाखोकी र श्वासप्रश्वास समस्याबारे सम्बन्धित व्यक्तिले भनेपछि मात्रै स्वास्थ्यकर्मीले थाहा पाउने अवस्था छ । हेल्थ डेस्कमा त्यस्तो सङ्क्रमण देखिने बित्तिकै सबै संयन्त्रहरू तयारी अवस्थामा राखिएको अहेव रोकायाले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x