ज्ञानमाण्डू।पोखरा महानगरपालिकाले पर्यटकीय स्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्टाइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताएकी छिन् ।महानगरपालिकाले पर्यटन क्षेत्रका लागि रु दुई करोड ४६ लाख विनियोजन गरेको छ । महानगरपालिकाले ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’ निर्माण कार्य अभियानका रुपमा अगाडि बढाउने तयारी गरेको छ । स्थानीय प्राङ्गारिक उत्पादनलाई प्रवर्द्धन गर्दै महानगरपालिकालाई एग्रो टुरिजम केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताएकी छिन् । उपप्रमुख गुरुङका अनुसार सामुदायिक वनसँगको सहकार्यमा खुला क्षेत्र संरक्षण गर्दै १४ स्थानमा पिकनिक स्थल निर्माण गर्नेछ । सराङकोट र पुम्दीभुम्दीमा निर्माणाधीन पर्यटकीय संरचना निर्माणलाई निरन्तरता दिइएको महानगरपालिकाले जनाएको छ ।
भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास तथा महानगरभित्र बोलिने लोपोन्मुख भाषाको संरक्षणमा जोड दिइने उल्लेख गर्दै उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षमा दुईवटा भाषाको शब्दकोष र व्याकरण निर्माणका लागि बजेट विनियोजन गरिएको बताएकी छिन् ।रासस
