ज्ञानमाण्डू।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन ।
परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले विसं २०७६ माघ १७ गते फेवा–बिएम जेभीसँग रु दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौतालगत्तै पुल बनाउन उपकरण र सामान लिएर गए पनि डिपिआर र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि फर्किएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए । “दुई महिनासम्म मैले लगेका मेसिन खोला किनारमै राखेर फिर्ता गर्नुप¥यो”, आचार्यले भने , “प्राधिकरणले नयाँ डिजाइन स्वीकृत गर्न ढिलाइ गरेकाले काम शुरु गर्न सकेका छैनौं ।” पुल निर्माणका लागि ठेकेदारले लगेका रडलगायतका निर्माण सामग्री किनारमै राखिएको छ ।
पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले नौ महिनासम्म पनि पुल निर्माण शुरु हुन नसकेको शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्धार गाउँ जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि योजना परेको थियो । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ ।
“घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्ने थियो”, वडाध्यक्ष तिलिजाले भने , “सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।” पुनः डिपिआर गरी डिजाइन संशोधन गर्न प्राधिकरणले ढिलाइ गर्दा योजना नै रद्द हुने स्थानीयवासीको चिन्ता छ । भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गर्न प्राधिकरणबाट स्वीकृति लिइसकेको एकाइका प्रमुख नारायण ढकालले बताए ।
“डिजाइन संशोधन गरेर २५ मिटरकै पुल बनाउन स्वीकृति पाएका छौँ”, प्रमुख ढकालले भने , “ठेकेदारलाई काम शुरु गर्न निर्देशन दिएका छौँ ।” परामर्शदाताले एउटा ठाउँको योजनाको डिपिआरलाई अर्को ठाउँको भनेर दिएकाले पुल निर्माण कार्य नौ महिनापछि धकेलिएको हो । दशैँलगत्तै काम शुरु गर्ने निर्माण व्यवसायी आचार्यले बताए ।रासस