ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड तथा तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघ संगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक बिर बहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने जानकारी दिएको छ ।