हिम पर्वत हाइड्रोपावरको आइपिओ कात्तिक ११ गतेदेखि खुल्ने

Gyanmandu | Achieving Excellence Together
हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्न अनुमति पाएको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका कुल ५९ लाख १५ हजार कित्ता शेयर जारी गरिनेछ।

आयोजना प्रभावित स्थानीयका लागि १६ लाख ९० हजार कित्ता

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँ बराबरका १६ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्नेछ। यसमध्ये १० लाख १४ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको छ।

दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नं. २, ३ र ४ का स्थानीयले उक्त १० लाख १४ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। बाँकी ६ लाख ७६ हजार कित्ता भने यी दुई गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ।

आयोजना प्रभावित स्थानीयका लागि निष्कासन हुने आइपिओमा छिटोमा कात्तिक २५ गते र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरका ४ लाख २२ हजार ५०० कित्ता शेयर निष्कासन गर्नेछ। यो सर्वसाधारणका लागि छुट्टाइएको शेयरको १० प्रतिशत हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आइपिओमा छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कहाँबाट दिने आवेदन?

आयोजना प्रभावित क्षेत्रका स्थानीयले नेपाल इन्भेस्टमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, प्रभु बैङ्कको सिंगटी शाखा, लक्ष्मी सनराइज बैङ्कको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैङ्कको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’बाट पनि आवेदन दिन सकिनेछ।

यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ। आइपिओको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x