सूर्यकुण्ड हाइड्रोको आइपिओ स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले बुधवार देखी आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री सुरु गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट मङ्सिर २५ गते प्राप्त स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्कासन गरेको हो। कुल निष्कासित शेयरमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाइएको छ।

आयोजना प्रभावित स्थानीयतर्फ नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सबै वडाका बासिन्दा आवेदन दिन योग्य रहेका छन्। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयतर्फको आइपिओमा पुस २३ गतेसम्म आवेदन खुला रहनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भने पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत सी–आस्बा प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि दुप्चेश्वर गाउँपालिकास्थित आयोजना स्थल, ज्योति विकास बैङ्कको समुन्द्रटार शाखा, कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कको खैरनिटार शाखा तथा काठमाडौँको थापाथलीमा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सकिनेछ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ। साथै, केयर रेटिङ्स नेपाल लिमिटेडले सूर्यकुण्ड हाइड्रोलाई ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x