राप्ती हाइड्रोले २५.१४ प्रतिशत हकप्रद शेयर जारी गर्ने, असोज २८ गते विशेष साधारण सभा

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले २५.१४ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्युमा बिहान ९ बजेबाट सभा सुरु हुनेछ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः०.२५१४११ अनुपातमा अर्थात् २५.१४११ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। उक्त अनुपातअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर आफ्ना विद्यमान शेयर धनीका लागि जारी गर्नेछ।

हकप्रद शेयर निष्कासनसम्बन्धी प्रक्रियामा नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहीअनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार असोज १९ गतेसम्म कायम शेयर धनीहरू मात्र विशेष साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x