नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गर्नुभएको हो ।
सो कार्यक्रममा उहाँले भन्नुभयो “प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । तर त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौँ । देशलाई यतिखेर यहाँहरूले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ । अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा रहेका भए पनि भोलिको सन्ततिका लागि नेपालमै केही गर्नुपर्छ ।”
अध्यक्ष ढकालले सङ्कटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिने प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो “कोरोना महामारीका बेला हामी सहरमा बसेका गाउँ फर्कियौँ, विदेशमा विभिन्न कारणले बसेका नेपालीहरू घर फर्किए । त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रूपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो । त्यसैले पनि म यहाँहरूलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ ।”
उहाँले संसारका कैयौँ देशमा रहेर गैर आवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठुलो महत्त्व रहेको बताउनुभयो । त्यसैले त्यसको केही प्रतिशत छुट्टाएर नेपालमा लगानी गर्न सके गैर आवासीय नेपाली तथा नेपालकै लागि फाइदा पुग्ने उहाँको भनाई थियो ।
गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासङ्घले आवश्यक सबै सहजीकरण गर्ने त छँदै छ नेपालका लगानीकर्ताहरू पनि सहकार्य गर्न इच्छुक रहेका उहाँको भनाई थियो ।
अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू रहेका उल्लेख गर्नुभयो ।
कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र लयमा फर्कने तरखरमा रहेको र नेपालमा अहिले पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा रहेकाले ती क्षेत्रमा लगानी गरेर मुनाफा आर्जन गर्न पनि आग्रह गर्नुभयो ।
गैर आवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
