नेपाली उत्पादन भारत निर्यात गर्न सघाउन नेपाली व्यवसायीले आग्रह गरेका छन् । भारतले विभिन्न कारण देखाएर नेपाली उत्पादन निर्यातमा बाधा पुर्याएका कारण व्यवसायीले सो आग्रह गरेका हुन् ।
भैरहवामा आयोजित ‘नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन’का वक्ताले नेपाली वस्तुको निर्यातमा भारतले गर्दै आएको अवरोधबारे चर्चा गरेका थिए । नेपाल उद्योग परिसङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले भन्नुभयो, “पहिला साबुन निर्यातमा अवरोध गरेजस्तै भारतले अहिले सिमेन्टमा पनि अवरोध गरिरहेको छ ।”
नेपाली वस्तु निर्यातमा भारतले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । नेपालबाट निर्यात हुने जडीबुटी, सिमेन्टलगायत वस्तुमा भारतले गुणस्तरको कुरा उठाउँदै अवरोध गरिरहेको अध्यक्ष आलमले उल्लेख गर्नुभयो ।
सम्मेलनमा व्यवसायीले सीमामा दुवैतर्फका भन्सार कर्मचारी र सुरक्षाकर्मीबाट अनाहकमा दुःख पाउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “यसलाई दुवै देशका व्यापारी मिलेर समाधान गर्नुपर्छ ।” उहाँले भारतको लखनउमा मात्र क्वारेनटाइन कार्यालय रहेका कारण समेत अप्ठ्यारो परेकाले सुनौलीमै सो कार्यालय स्थापनाको पहल गरिदिन आग्रह गर्नुभयो । निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेलको सुविधा प्रदान गर्न अध्यक्ष शर्माले भारतीय पक्षसँग आग्रह गर्नुभयो ।
नेपालका लागि भारतका पूर्व राजदूत मञ्जिभसिंह पुरीले नेपाली वस्तुको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । पिएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज, भारतको आयोजना, उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशको समन्वयमा सम्पन्न उक्त सम्मेलनमा नेपाल र भारतका विभिन्न उद्योगी व्यापारी सङ्गठनका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा यहाँ स्थित भारतीय दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तव, नेपाल एसबीआई बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिपककुमार डे, पूर्व प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोख्रेललगायतले दुई पक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्त्वपूर्ण भूमिका खेल्दै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाली उत्पादन निर्यातमा सघाउन व्यवसायीको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
