देशकै विकासको नमुना पालिका बनाउन लागिएको चितवनको भरतपुर महानगरपालिकाका ठुला आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएका छन् । भौतिक पूर्वाधारको हिसाबले भरतपुर महानगरपालिका अग्रस्थानमा छ ।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार ठुला आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएका छन् । भरतपुर विमानस्थल विस्तार गर्न बजेट विनियोजन भएको छ । विमानस्थल विस्तार भएसँगै ठुला जहाजले रात्रिकालीन उडानसमेत भर्नेछन् । भरतपुरमा रहेको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्न लागिएको हो । प्रमुख दाहालले भन्नुभयो, “पहिलो पटक म प्रमुख भएपछि पहल थालिएको यो आयोजनाले मूर्तरूप लिनेछ ।”
धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण अगाडि बढाइने बजेटमा उल्लेख छ । यसका लागि भरतपुर महानगरले बोलपत्र आह्वान गरिसकेको छ । यसअघि एउटा मात्र बोलपत्र परेपछि पुनः बोलपत्र आह्वान गरिएको प्रमुख दाहालले बताउनुभयो ।
लुम्बिनी, भरतपुर र पोखरालाई मिलाएर त्रिभुज आर्थिक परियोजना अगाडि बढाइने बजेटमा उल्लेख छ । यी सहरमा आर्थिक तथा पर्यटकीय पूर्वाधार र प्रवर्द्धन गरिने भएको छ । प्रमुख दाहालका अनुसार भरतपुरलाई पर्यापर्यटनको नमुना सहरका रूपमा विकास गर्ने गरी बजेट विनियोजन गरिएको छ । यसले देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई पोखरा र लुम्बिनीसँग जोड्ने छ ।
भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाइने भएको छ । यससँगै आगामी आर्थिक वर्षबाट यहाँ सरकारी तवरमा एमबिबिएसको पढाइ गर्न सकिने भएको छ । नारायणी नदीमा टर्मिनल भवन निर्माणसहितको जलमार्ग निर्माण कार्य अगाडि बढाउन बजेट विनियोजन गरिएको छ । यसले यहाँको जल पर्यटनमा ठुलो टेवा पुग्ने छ । नारायणी नदीमा सिग्नेचर पुल निर्माण सम्पन्न कार्यका लागि बजेटको व्यवस्था गरिएको छ । पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरिसक्नुभएको छ । यससँगै नारायणी तटबन्धलगायतका अन्य क्षेत्रमा बजेट विनियोजन भएको छ । माडी जाने हुलाकी सडक, शक्ति खोर औद्योगिक क्षेत्रलगायतलाई बजेटले समेटेको प्रमुख दाहाल बताउनुहुन्छ ।
महानगरभित्रका ठुला आयोजना आगामी आवको बजेटमा परेका छन् । अहिले बजेट परेका कतिपय आयोजना आफूले सात वर्षदेखि निरन्तर विभिन्न निकायमा पहलकदमी र आग्रह गरेकै कारण सफल भएको उहाँ बताउनुहुन्छ । यी आयोजना भरतपुरको विकासका लागि कोशे ढुङ्गा हुने प्रमुख दाहालले बताउनुभयो । कतिपय आयोजना यसअघि चितवन क्षेत्र न ३ बाट निर्वाचित हुँदा प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका आयोजनासमेत रहेका छन् ।
बजेटमा भरतपुरका ठुला आयोजना समेटिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
