लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकीकृत कानुन बनाई लागु गर्न सरकारसँग आग्रह गर्नु भएको छ । 

कोशी प्रदेश सरकारले पहिलो पटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गर्नु भएको हो । 

उहाँले आगामी १० वर्षलाई लगानी दशकको रूपमा घोषणा गर्न, लगानीसँग सम्बन्धित कानुनहरू वन, वातावरण र भूमि समेत एकीकृत गरी एकीकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नु पर्ने धारणा राख्नु भयो । 

यस्तै उहाँले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यकता रहेकोमा जोड दिनुभयो । “ लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यकता हो । राजनीतिक अस्थिरताका बिचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरणहरू छन् । सबै दलहरूले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ । कानुनको अपव्याख्या गर्ने र एक अर्को कानुन बँझिने अवस्था अन्त हुनुपर्छ भन्ने हाम्रो धारणा छ । ” उहाँले भन्नु भयो ।

अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणको विषयलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यस पटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थान विन्दु बन्नुपर्ने विचार व्यक्त गर्नु भयो ।  

व्यवसायको दर्ता नागरिक एपबाट हुने व्यवस्था गर्न, कर बुझाएको आधार स्वतः नवीकरण हुने व्यवस्था गर्न तथा विदेशी लगानीलाई अनलाइनबाट सबै प्रक्रिया पुरा गरेपछि फाइल बुझाए पुग्ने व्यवस्था गरी फाइल लगानीकर्ता आफैले डुलाउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न अध्यक्ष ढकालले सरकारसँग आग्रह गर्नु भयो । 

यस्तै उहाँले लगानी बोर्ड, उद्योग विभाग लगायत अन्य निकाय एकीकृत गरी अधिकार सम्पन्न लगानी सहजीकरण निकायको निर्माण गरी लगानी सहजी करणलाई जोड दिन आग्रह गर्नु भयो । 

कोशी प्रदेश पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रमा व्यापक सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरूको सम्भाव्यता , लगानीको ढाँचा तथा प्रदेश सरकारको भूमिका स्पष्ट पारेर लगानीकर्तालाई आश्वस्त पार्न कोशी प्रदेश सरकारलाई आग्रह गर्नु भयो । 

देशमा पूर्वाधार विकासमा पुँजीको अभाव नहोस् भनेर महासङ्घकै पहलमा १० अर्ब पुँजी भएको पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम सुरु गरिसकेका जानकारी दिँदै उहाँले यसले पूर्वाधारमा लगानीको अभावलाई थोरै भए पनि हटाउन सघाउ पुग्ने बताउनु भयो ।  

यसै गरी महासङ्घले आफ्नो साधारण सभाको अवसरमा लगानी विस्तार र सर्वसाधारणको सेवा सुरक्षा बढाउन सुशासनको विषय उठाएको स्मरण गर्दै उहाँले सरकारले तत्काल सुशासन आयोग गठन गरेकोमा सरकार प्रति आभार व्यक्त गर्नुभयो । साथै निजी क्षेत्र सुशासन र सुधारका क्षेत्र हरेक तरहबाट सुधारका लागि सहकार्य गर्न तयार रहेको समेत बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x