म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधवार साँझ ब्रेक थ्रु भएको हो । आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिनुभयो ।
“अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार आठ सय मिटर लामो सुरुङ यस अघि नै जोडिएको थियो”, उहाँले भन्नुभयो, “बाँधदेखि विद्युत् गृहमा पानी लैजान पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण भएको छ ।”
सुरुङ छेडिएपछि प्रवर्द्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरूले खुसीयाली मनाएका छन् । तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो ।
बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ । मलाङको ‘आउट लेट’देखि चिम खोलाको बगर खोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने नौ सय मिटर पाइप लाइन जडान भइरहेको छ । तीन सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ । आउट लेट र विद्युत् गृहको उचाइ तीन सय ५० मिटर छ । विद्युत् गृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ ।
तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । मङ्गले राहुघाटको विद्युत् गृह नजिकै बगर खोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ ।
करिब रु १४ अर्ब लागतमा विसं २०७७ मा सुरु भएका दुई वटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इन्जिनियर तिमिल्सिनाले बताउनुभयो । बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत् गृह जोड्ने अपर राहुघाटको चार हजार नौ सय मिटर लामो सुरुङ छ महिनाअघि निर्माण भएको थियो ।
अपर राहुघाटको विद्युत् गृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ । मङ्गले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी छ ।
उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट ‘सब स्टेसन’देखि चिम खोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सब स्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ । राहुघाट नदीको सहायक ठुलो खोलामा संयुक्त ऊर्जा प्रा.लि. ले २१ दशमलव ३ मेगावाट क्षमताको ठुलो खोला र ठुलो खोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलो खोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।
राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण पूरा भएको छ ।
मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en