स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै

बागलुङमा विसं २०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्त्व बुझाउन मुस्किल थियो । मुस्किलले एक–दुई परिवार बीमामा आबद्ध भए पनि अरूले भने बेवास्ता गरेका थिए ।

जिल्लामा स्वास्थ्य बीमा सुरु भएको सात वर्ष बितिसक्दा भने यसमा आबद्ध नागरिकको सङ्ख्या क्रमशः उकालो लागेको छ । घरघरमा पुगेर स्वास्थ्य बीमामा आबद्ध हुन नमानेका नागरिकले अहिले बीमा गर्न आफैँ बोलाउन थालेका छन् ।

“पहिला बीमा गर्न घरमै पुग्दा गालीसमेत खाइयो, धेरैले बीमाको महत्त्व नबुझेर रहेछ, अहिले त बीमा नवीकरणको समय आयो भन्दै फोन गर्ने गरेका छन्, धेरैले स्वास्थ्य बीमाका कारण उपचारमा सहयोग पुगेको बताउँदै आएका छन्”, स्वास्थ्य बीमाका सामाजिक परिचालक सरिता शर्माले भन्नुभयो, “पहिलो वर्ष घरघरमा पुग्दा रित्तो हात फर्केर आएको सम्झना छ, अहिले भने खाली फर्कनुपर्ने अवस्था छैन, अहिले बागलुङ नगरपालिका–४ को करिब आधा जनसङ्ख्या स्वास्थ्य बीमा आबद्ध भएका छन् ।”

जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमा प्रति नागरिकको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७२÷७३ मा स्वास्थ्य बीमा सुरु गर्दा एक हजार ६ सय ८१ मात्रै आबद्ध भएका थिए तर पछिल्लो सात वर्षमा एक लाख नौ हजार पाँच सय ८१ जना आबद्ध भइसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा गर्नेमध्ये ५७ हजार नौ सय ९५ महिला र ५१ हजार पाँच सय ८६ पुरुष छन् । उहाँका अनुसार सबैभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध हुने बागलुङ नगरपालिकाका नागरिक छन् । नयाँ स्वास्थ्य बीमाका सदस्य थपिँदै जाने र केही नवीकरण नगर्ने नागरिकको सङ्ख्या घट्दै गए पनि स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

“बागलुङको जनसङ्ख्या दुई लाख ५० हजार पाँच सय ४४ रहेकामा एक लाख नौ हजार पाँच सय ८१ जना स्वास्थ्य बीमामा आबद्ध छन्, हाम्रो अभियान सबै नागरिकको पहुँचमा बीमा पुर्‍याउने हो, दर्ता सहयोगी गाउँ–गाउँमा स्वास्थ्य बीमामा आबद्ध गराउन हिँडिरहेका छन्,” पौडेलले भन्नुभयो, “अस्पतालबाट पाउने सेवाबाट नागरिक खुसी भएका छन्, औषधिमा केही गुनासो अझै कायम छ तर रिफरको समस्या र एक महिनालाई औषधि दिने समय थपिएको छ ।”

आबद्ध भएका बिरामीले एक पटक रिफर लगेमा पुन दोहोर्‍याउन नपर्ने भएकाले बिरामीलाई सहज हुने उहाँले बताउनुभयो । सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच पुगोस् भन्ने हेतुका साथ ल्याएको यस कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधोपचारमा ठुलो राहत महसुस गर्न थालेका छन् ।

कमै मात्रमा उपचारका लागि धवलागिरि अस्पतालमा आउने बिरामीको सङ्ख्या यो कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्या तेब्बरले वृद्धि भएको छ । अहिले यस अस्पतालमा सिटिस्क्यान उपकरणसमेत भित्रिएपछि बिरामीलाई राहत भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधानले बताउनुभयो ।

अस्पतालमा थपिएको सेवाका कारण नागरिक स्वास्थ्य बीमामा थप आकर्षित भएका छन् । “अहिले बीमा नगरेका बिरामी नगन्य मात्रै अस्पतालमा आउँछन् । बिरामीले परीक्षणमा बढी फाइदा उठाएका छन्, औषधिसमेत निःशुल्क पाएका छन्, केही औषधि जुन बीमामा पर्दैनन् त्यही मात्र पाइँदैन,” उहाँले भन्नुभयो, “अस्पतालबाट विशेषज्ञ सेवा र विशिष्टीकृत सेवा पनि दिइँदै आएका कारण बीमा गर्ने बिरामीहरू उपचारका लागि यहाँ आउने गरेका हुन् ।”

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु सात सयका दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने स्वास्थ्य बीमाको नीतिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x